कञ्चनपुर। ‘यहाँ दोधारा–चाँदनीको खसीको मासु पाइन्छ।’
यस्तो साइनबोर्ड भएका मासु पसल भेटिन्छन्, कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगर बजारमा। महाकाली नदीसँगै जोडिएको दोधाराचाँदनी नगरपालिकामा उत्पादित खसीको मासु सेकुवा, मम लगायत परिकार लोकप्रिय छ।
चरन क्षेत्र नभएकाले यहाँ खोरमै खसीबाख्रा पालिन्छ। दानापानी र घाँस खुवाएर हुर्काइएका खसीको मासुमा बोसोको मात्रा बढी हुन्छ। दोधाराचाँदनी नगरपालिका वडा नं. ७ का नमुना किसान लालबहादुर पुन मगर भन्छन्, ‘बोसो भएको मासुबाट बनाइएको मम र सेकुवा मिठो हुन्छ।’
नमुना किसान लालबहादुर पुन मगर
दोधाराचाँदनीमा खसीको मासु प्रतिकिलो ९ सय रुपैयाँमा बिक्री भइरहेको छ। व्यापारीले किसानबाट जिउँदो खसी प्रतिकिलो ६ सय रुपैयाँमा किन्छन्।
अधिकांश किसानका घरमा दुईचार ओटा बाख्रा पालिएकै हुन्छ। केही व्यावसायिक फार्म पनि सञ्चालित छन्। यस्तै नमुना किसान लालबहादुरको ‘राज कृषि तथा पशुपंछी फार्म’मा सय ओटा खसीबाख्रा छन्। साथै ४ ओटा भैंसी र ७ ओटा बङ्गुरपालन गरिएको छ।
उनी खसी मात्र होइन, पाठापाठी पनि बेच्छन्। एक किसिमले बाख्राको श्रोत केन्द्र बनेका छन्। उनले स्थानीय जातका बाख्रा पालेका छन्। उन्नत जातका बाख्रा पाल्ने उनको योजना छ।

उनी बङ्गुरका बच्चा ५ हजारदेखि ६ हजार रुपैयाँमा बेच्छन्। बजारमा बङ्गुरको मासु प्रतिकिलो ५ सय रुपैयाँ पर्छ। व्यापारीले उनको फार्मबाट बङ्गुरको मासु प्रति किलो ४२० रुपैयाँमा किन्छन्।
कृषि कर्ममा उनको परिवार नै होमिएको छ। उनले एक आफन्तलाई रोजगारी पनि दिएका छन्। खाद्य मिल पनि सञ्चालन गर्दै आएका छन्।
कोभिड– १९ पछि उनले व्यावसायिक रुपमा पशुपालन गरेका। उनी जस्तै केही किसानले व्यावसायिक कृषि फार्म सुरु गरेका थिए। लागत बढी भएकाले कतिपय फार्म बन्द भइसके।
‘लगानी अनुसारको प्रतिफल पाइएको छैन’, उनी भन्छन्, ‘यहाँ चरन क्षेत्र नभएकाले घरमै दानापानी खुवाएर पाल्नु पर्दा लागत महँगो पर्दछ।’

अर्को दुःख पनि ब्यहोर्नुपर्दछ किसानले, बैङ्कको महँगो ब्याज दर। उनले पनि ऋण लिएर पशुपालन गरेका।
‘बैङ्कहरूले ऋण दिने बेलामा ब्याज दर एउटा तोक्छन्, पछि बढाउँदै जान्छन्’, लालबहादुर भन्छन्, ‘ब्याजमा एकरुपता हुनुपर्यो। सरकारले निर्ब्याजी ऋण दिने व्यवस्था मिलाएमा कृषि पेसा आकर्षण बढ्नेछ।’
खेतीमा रोगव्याधि लाग्दा होस् या पशुपंछीको उपचार गर्नुपर्दा यहाँका किसानले सिमावर्ती भारतीय बजारको भर पर्नुपर्छ। स्वदेशमै शुलभ मूल्यमा औषधि र पशुचिकित्सक व्यवस्था हुनुपर्ने उनीहरूको माग छ।
किसानलाई हाम्रो प्रोत्साहन: किशोर कुमार लिम्बु (मेयर, दोधारा-चाँदनी नगरपालिका)
किशोर कुमार लिम्बु (मेयर, दोधाराचाँदनी नगरपालिका)
दोधारा-चाँदनीको खसी प्रख्यात छ। हामीले बाख्रापालक किसानलाई प्रोत्साहित गरेका छौं। हाम्रो प्रमुख आम्दानीको स्रोत नै कृषि र वैदेशिक रोजगारी हो। यहाँ, गहुँ, धान र मकै, उखु र भटमास, तरकारीका साथै आँप, लिचि, अम्बा, केरा लगायत फलफूल पनि राम्रो उत्पादन हुन्छ। अहिले हामी दोधारा चाँदनीलाई नमुना पर्यटन गन्तव्य बनाउने अभियानमा छौं।