काठमाडौं। पोखरा पर्यटन परिषद्को पहलमा चीनको सिचुआन एयरलाइन्सले चैत ५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक चाटर्ड उडान सुरु गरेको छ। सुस्ताएको पर्यटनलाई पुनः लयमा फर्काउने विकल्पको रुपमा यो अभियान सुरु गरिएको हो। प्रारम्भमा यो अभियानअन्तर्गत तीन वटा उडान गर्ने तय भएको छ। जसअनुसार पहिलोे उडान चैत ५ गते सम्पन्न भयो।
पहिलोपटक छेन्दुबाट चिनियाँ पर्यटक लिएर पोखरा आएको सो एयरलाइन्समार्फत नेपालबाट जनप्रतिनिधि र व्यवसायीहरु सिचुआन पुगेका थिए। सिचुआन प्रान्तका केही सहरमा उनीहरुले पर्यटकीय कार्यक्रमसमेत गरे।

पोखरा–छेन्दु उडानको सुरुवात र सिचुआनका सहरहरुमा पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड पोखरा र सिचुआनका पर्यटनसम्बद्ध निकायहरुले गरेको कार्यक्रमले नेपालको पर्यटन विकासमा कस्तो अर्थ राख्छ? भन्ने विषयमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीसँग एभरेष्ट पेडिया संवाददाताले गरेको कुराकानी:
पोखरा–छेन्दु उडान र समग्रमा यात्रा कस्तो रह्यो?
चीनका दुई महत्वपूर्ण सहरमा नेपालको तर्फबाट पहिलोपटक कार्यक्रम गर्ने अवसर प्राप्त भयो। ९ करोड जनसंख्या रहेको सिचुआन प्रान्तमा नेपालको पर्यटनबारे प्रचारप्रसार गर्नु आफैंमा ठुलो कुरा हो। त्यहाँ पोखरालाई चिनाउन पाइयो।
दुई ठाउँमा बिटूबी कार्यक्रम भए। कार्यक्रममा त्यहाँका राम्रा–राम्रा व्यक्तिहरु सहभागी हुनु भयो। उहाँहरुबीच सिचुआन एयरलाइन्सलाई निरन्तरता दिने र पोखरा–छेन्दु पर्यटन सम्बन्ध अगाडि बढाउनेबारे कुराकानी भयो।
उताका एजेन्सीहरु पोखराको प्याकेज बिक्री गर्न आतुर छन्। पोखराको पर्यटनबारे बुझ्न हामीसँगै चाइना इन्टरनेसनल ट्राभल, छेन्दुका म्यानेजर आउनु भएको छ। उहाँको उद्योग वाणिज्य संघ तथा यहाँ पर्यटकसँग भेटघाट भयो।
सिचुआन एयरलायन्सले आफ्नो बुकमा ‘डेस्टिनेसन’को रुपमा पोखरालाई समावेश गरिसकेको छ। १ तारिखको उडानका लागि टिकट पनि खुला भएको छ।

जे सोचेर अभियान सुरु गर्नु भएको थियो, त्यो पूरा भयो त?
हो, अभियान सफल भयो। अब बिस्तारै पर्यटन चलायमान हुन्छ।
पोखरा र सिचुआनलाई जोडेर हेर्दा पर्यटनको सम्भावना कस्तो पाउनु भयो?
त्यहाँको विकास धेरै राम्रो छ। नेपालबाट विकास हेर्न युरोप–अमेरिका जानै पर्दैन, त्यहाँ गए पुग्छ। छोङछिङ भनेको बेइजिङ र साङ्घाईजस्तै सिटी हो। विश्वको विकासको नमुना त्यहाँ देख्न र बुझ्न पाइन्छ। अर्को कुरा बुद्धिजम र हिमाली परिवेशको हिसाबले त्यहाँको र यहाँको भूगोल मिल्दोजुल्दो छ। त्यसैले नेपाली पर्यटकका लागि यो राम्रो गन्तव्य बन्न सक्छ।
उनीहरुको लक्ष्य छेन्दुको एयरपोर्टलाई अन्तर्राष्ट्रिय हब बनाउने रहेछ। यहाँ अस्ट्रेलिया, जापान, मकाओजस्ता देशबाट उडान भइरहेको छ। यसमा पोखरालाई निरन्तरता दिन सकियो भने धेरै सम्भावना छ।
यो सम्भावनालाई व्यवसायिकरण गर्न कति सहज छ?
सबै लाग्ने हो भने सहज छ। त्यसको लागि पहिलो कुरा भनेको प्रमोसन (प्रचार) नै हो। हामीले धेरैभन्दा प्रमोसन गर्नुपर्छ। पोखराका एजेन्सीहरुले पनि त्यताको प्याकेज बेच्नु पर्यो। प्रमोसन गर्नसके सहज छ।
यो सम्भावनालाई लिएर पर्यटन व्यवसायीले बुझ्नु पर्ने कुरा के हो?
मुख्य कुरा भनेको नै सिचुआनका सहरलाई समेटेर प्याकेज निकाल्नु र बेच्नु हो।
पोखरा–छेन्दु उडान नियमित भयो भने भविष्यमा पोखराको पर्यटन कस्तो होला?
अहिले पोखरामा बाहिरबाट आउनेको संख्या घट्दो छ। यो अभियान सफल भए। यहाँको पर्यटन पूर्णरुपमा पहिला (कोरोना महामारी अगाडिको)को अवस्थामा फर्किन्छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दृष्टिकोणबाट यो अभियानलाई कसरी लिने?
मुख्य कुरा पहिलोपटक व्यवसायिक चाटर्ड उडान गरेर रेकर्ड नै राखियो। कसैको पनि ध्यान नगएको एयरपोर्ट व्यवसायीको पहलले गर्दा सञ्चालनमा आयो। निरन्तर सञ्चालनका लागि हामी लागिपरेका छौं। गण्डकी प्रदेशकै ‘लाइफलाइन’को रुपमा रहेको यो एयरपोर्ट सञ्चालन हुँदा अवश्य पनि यहाँको पर्यटन चलायमान र आर्थिक समृद्धि हासिल हुन्छ।
पोखरा र काठमाडौंबाट यात्रा गर्दा के फरक पर्छ?
पोखराबाट यात्रा गर्दा पर्यटकलाई धेरै सहज हुन्छ। अहिले पोखरा आएका पर्यटकहरु काठमाडौं, सौराहा र लुम्बिनी घुमे। पोखरा ओर्लिएर पूरै नेपाल घुम्न सकिन्छ। यो भनेको समग्र देशको पर्यटनलाई फाइदा हुने कुरा हो।
तपाईंहरुले अभियान सुरु गरेपछि अरु एयरलाइन्सले पनि पोखराबाट उडान गर्ने तयारी गरेका छन्, यसलाई कसरी लिनु भएको छ?
हामीलाई त यहाँबाट जति धेरै एयरलाइन्सहरुले सेवा दिन्छन्, त्यति राम्रो हो। सिचुआन उडाएपछि अरु पनि एयरलाइन्स यहाँ आउन् भन्ने हाम्रो चाहना हो।
समय र कुराकानीको लागि धन्यवाद।
हस्।
तस्बिरहरु: पाेखरा महानगरपालिका