पाेखरा। पाेखरा पर्यटन परिषद्ले पाेखरा-छेन्दु उडान पर्यटन विकासमा ऐतिहासिक उपलब्धि भएकाे बताएकाे छ। परिषद्ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उडान पर्यटन विकासमा ऐतिहासिक उपलब्धि भएकाे बताएकाे हाे।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित पोखराका प्रतिष्ठित पर्यटन व्यवसायी, पत्रकार तथा अन्य क्षेत्रका प्रतिनिधिहरू चैत ५ गते (मार्च १८, २०२५) सिचुवान एयरमार्फत छेन्दु पुगेका थिए। भ्रमणका क्रममा छेन्दु र चोङ्छिङ सहरमा चिनियाँ व्यवसायीहरूसँग बिटूबी बैठक, गन्तव्य प्रवर्द्धन कार्यक्रम तथा पोखरा नाइट आयोजना गरिएको थियो।
चैत ५ मा पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित सिचुआन एयरलाइन्सकाे जहाज। तस्बिर: पाेखरा महानगरपालिका
कार्यक्रमहरू सम्पन्न भएपछि भ्रमण टोली मंगलबार (चैत १२ गते) नेपाल फर्किएको छ। यस भ्रमणको प्रत्यक्ष प्रभावस्वरूप अबदेखि सिचुवान एयरलाइन्समार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट साप्ताहिक उडान सञ्चालन गरिनेछ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस ऐतिहासिक उपलब्धिमा योगदान गर्ने सम्पूर्ण सहभागी, पोखरा महानगरपालिका, सिचुवान प्रान्त, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, छेन्दुस्थित नेपाली महावाणिज्य दूतावास, नेपाल नागरिक उड्डयन प्राधिकरण, सिचुवान एयरलाइन्स लगायतका निकायहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै, उनले १२६ जना सहभागी, संचारकर्मी तथा पर्यटन प्रवर्द्धनमा योगदान गर्ने सबैलाई निरन्तर सहकार्यका लागि आभार व्यक्त गरे।
चैत ५ मा सिचुआन एयरलाइन्समार्फत पाेखरा आएका चिनियाँ पाहुना। तस्बिर: पाेखरा महानगरपालिका
यस चार्टर उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई नयाँ दिशा प्रदान गर्ने विश्वास गरिएको छ। पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न आगामी दिनमा थप उडान तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिने योजना रहेको पर्यटन परिषद्ले जनाएको छ।
