काठमाडौं। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेपालमा ‘पर्यटक बढाउन यौन व्यवसायलाई खुला गर्नु पर्ने’ तर्कले संसदमा तरङ्ग फैलिएकाे छ।
उनको यो तर्कलाई लिएर सांसद बैठकमा सांसदहरुले आपत्तिमात्रै जनाएका छैनन्, यसको सुरुवात आफ्नो घरबाट गर्न समेत चुनौती दिएका छन्।
प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्या बढाउनेछ। धार्मिक पर्यटकहरूले खर्च कम गर्छ। साहसिक पर्यटक थोरैमात्र हुन्छन्। संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो।’
घिमिरेको तर्ककलाई लिएर नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले ‘समाजलाई जंगली युगमा पठाउने कुरा’को संज्ञा दिएका छन्। सांसद सुवालले आइतबारको संसद बैठकमा भने, ‘यो त समाजलाई जंगली युगमा पठाउने कुरा हो। सामाजिक प्राणीले यस्तो सोच्न मिल्छ? कहाँबाट आयो यस्तो बुद्धि?’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले घिमिरेको तर्कलाई गणतन्त्रको विकृतिको रुपमा व्याख्य आपत्ति जनाएका छन्। उनले गणतन्त्र आएपछि युवाजति बिदेशमा बेचिएको र देशमा बाँकी रहेका महिलाको अस्तित्वलाई पनि कोठी खोलेर बेच्ने अवस्था आएको भन्दै कठोर टिप्पणी गरे।
‘यौन व्यवसाय, कोठी सरकारले नै चलाउने दिन आएको छ होइन?’, उनले प्रश्न गरे, ‘यो देश प्रकृतिको सुन्दर देश हो। यो देश जलस्रोतमा विश्वको दोस्रो ठुलो देश हो। यस देश देवभूमि हो। यो देश माता सीता र भृकुटीको भूमि हो। यो देश देवी पूजनको भूमि हो। यो देश बुद्ध जन्मेको भूमि हो। यही दिनको लागि गणतन्त्र ल्याएको हो? यही दिनको लागि राज फ्याँकेको हो?’
त्यस्तै माओवादी सांसद दुर्गा राईले घिमिरेलाई उक्त अभियानको सुरुवात आफ्नो घरबाट गर्न चुनौती दिएकी छन्। उनले यो तर्क आपत्तिजनक भएको भन्दै सभामुख समक्ष तर्कलाई संसदको रेकर्डबाट हटाउन रुलिङको समेत माग गरिन्।
‘यस्ता विचारले अनुसाशित र मर्यादित समाजलाई अराजकतिर पुर्याउँछ। त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुखज्यूबाट रिलिङको माग गर्दछु’, सांसद राईले भनिन्, ‘सम्बन्धित माननीयज्यूलाई प्रश्न गर्न चाहन्छु, त्यो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्न आँट गर्नुहुन्छ?’
यद्यपि, यो विषय सांसदमा पहिलोपटक मात्रै उठेको होइन। यसअघि पनि सांसदमा यस विषयले चर्चा र विवाद कमाउने गरेको छ।