संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने दाबी गर्नुभएको छ । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरूपा मन्दिर तथा सत्तल पुनर्निर्माणका लागि मंगलबार शुभारम्भ गर्दै मन्त्री आलेले सो दाबी गर्नुभएको हो ।
‘पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काई अतिक्रमण भएको जमिन सबै फिर्ता गराइनेछ’ नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका र आजभोलि नै अवकास लिने अवस्थामा रहेका मन्त्री आलेले भन्नुभयो– ‘सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु ।
’विगत वर्षहरूमै सार्वजनिक भएको तथ्यांकअनुसार पशुपति विकास कोषका नाममा रहेको २ सय ३१ रोपनी जग्गा नै हराएको पाइएको छ । कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो । यसमध्ये कतिपय जग्गा खोला, बाटोमा परेको हुन सक्ने बताउँदै खोजी गर्ने काम भइरहेको कोषले जनाएको छ । कोषसँग अहिले देशभर १८ हजार ३ सय ४२ रोपनी ५ आना जग्गा रहेको अभिलेखले देखाउँछ ।मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अझै पनि देश र नागरिककै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको ५ सय ३४ रोपनी जग्गाको संरक्षण हुन नसकेको समाचार यसअघि नै प्रकाशनमा आएको छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन ।
कोषले गोठाटारको जग्गामा सुकुम्बासीका नाममा बसोबास गर्नेलाई हटाउन सार्वजनिक सूचना प्रकाशन गरेको, सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगतरूपमै माइकिङ गरेर छोडेर जान भनेको तर अतिक्रमणकारी नहटेको स्वीकार गरेको छ ।पछिल्लो समयमा बस्न आउनेलाई हटाउने गरे पनि रातारात फेरि बस्न आउने गरेको हुँदा समस्या आएको छ । प्रहरी प्रशासनको सहयोग लिएर कोषले हटाउने क्रमलाई भने जारी राखेको छ । कतिपटक जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नै लगेर सुकुम्बासी हटाउन खोजिएको थियो ।
कोषले सो जग्गामा विभिन्न संरचना निर्माणको योजना अघि सारेको जसमा पशुपति हिन्दू विश्वविद्यालय, गौशाला, आयुर्वेद औषधालय, वृद्धाश्रम, उद्यानजस्ता संरचना गोठाटारको जग्गामा बनाउने सोच बनाई काम थालेको छ ।काठमाडौं उपत्यकामा खाली जग्गा कम हुँदै जान थालेपछि सुकुम्बासीका नाममा संगठितरूपमा हडप्ने प्रयास भइरहेको छ ।
यो जग्गामा रहेको बालुवा पनि रातारात चोरी हुने गरेको छ । नजिकै सुरक्षा चौकी नहुँदा सार्वजनिक सम्पत्तिको संरक्षण हुन सकेको छैन । कोषको जग्गामा बस्न खोज्ने र बालुवा चोरी गर्नेसँग पटकपटक झडप हुनेगर्दछ ।गोठाटारस्थित कोषको जग्गामा ११ वटा पक्की घर र ४० वटा टहरा निर्माण भएको कोषकै सूत्र बताउँछ । कोषको जग्गाको संरक्षणका लागि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले स्थलगतरूपमा अवलोकन गरेर ठोस रूपमा अघिबढ्ने दाबी गरेलगत्तै मन्त्री पद छोड्न बाध्य भएका थिए, अहिले मन्त्री आले पनि त्यही अवस्थामा पुग्नुभएको छ ।
आफ्नो चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो तर, कोषको कार्यालयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिन सक्ने भए पनि बेवारिसे अवस्थामा छाडिएको छ । राजधानी काठमाडौंको सुगमस्थलमा रहेको कोषको जग्गा आर्थिक उपलब्धि मात्र हैन रमणीय धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य पनि बन्ने प्रशस्तै आधार रहेको उक्त स्थानमा कोष तथा सरोकारवाला निकायको बेवास्ताले गर्दा व्यक्ति तथा संस्थाले रजाइ गरिरहेका हुन् ।
मन्त्री आलेले बिदा हुनैलाग्दा अन्य आश्वासन पनि दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका किरियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गरी छिट्टै तातो र चिसोपानीको व्यवस्था गरिने जानकारी दिँदै मन्त्री आलेले मन्दिर क्षेत्रमा रहेको पानी शुद्ध पारी पिउन र नुहाउन मिल्ने खालको बनाउन कोषका पदाधिकारीलाई निर्देशन पनि दिनुभएको छ ।