काठमाडाैं। प्रतिनिधिसभा सदस्य (सांसद) बासुदेव घिमिरेले भन्सार फ्रि गरे भारतीय पर्यटकको संख्या बढ्ने दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै सांसद घिमिरेले वर्षमा कम्तिमा १० दिनमात्रै भारतीय यात्रुवाहक सवारीलाई भन्सार फ्रि गरे १ करोड भारतीय पर्यटक सजिलै नेपाल आउने दाबी गरेका हुन्।
प्रशासनिक विधिबाट सरल आवतजावत तथा बसाइँको राम्रो व्यवस्था गरे सो संख्यामा पर्यटक नेपाल आउने र १ खर्ब ६० अर्ब बराबरको आर्थिक क्रियाकलाप हुने उनको भनाइ छ।
पूर्णपाठ:
हाम्रो समृद्धिको आधार पर्यटन नै हुन सक्छ। किनभने, भारतमा डेढ महिना चलेको महाकुम्भको अवधिमा मात्रै करिब १० लाख नेपालीले कम्तिमा २० अर्ब खर्चिएको चर्चा छ। भारतले धार्मिक पर्यटन प्रवर्द्धनका लागि आकर्षक र योजनाबद्ध काम गरेकोले महाकुम्भमा नेपालीहरुको समेत आकर्षण रह्यो।
नेपालले पनि भारतीयलाई लक्षित गरेर धार्मिक पर्यटन प्रवर्द्धनमा धेरै काम गर्न सक्ने देखिन्छ। लुम्बिनी, पशुपतिनाथ, मुक्तिना र जनकपुरलाई केन्द्रित गरेर वर्षको कम्तिमा १० दिन भारतीय यात्रुवाहक सवारी साधानलाई भन्सार फ्रि गर्ने, सरल प्रशासनिक विधिबाट आवतजावत तथा बसाइँ व्यवस्थापन गर्ने हो भने करिब १ करोड भारतीय पर्यटककलाई सजिलै नेपालमा भित्र्याउन सकिन्छ। यसरी आउने पर्यटकले प्रतिव्यक्ति १० हजार भारु खर्च गर्दा १ खर्ब ६० अर्ब बराबरको आर्थिक क्रियाकलाप हुन्छ।
तसर्थ, सम्माननीय सभामुखमार्फत तीर्थधामको चरणबद्ध योजना निर्माण गरी पर्यटन प्रवर्द्धन अभियानमा लाग्न म सरकारको गम्भीर ध्यानाकर्षण गर्छु। धन्यवाद।
नेपालमा वार्षिक ११–१२ लाख पर्यटक भित्रिने गरेका छन्। सन् २०१९ मा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए। भने, गत वर्ष २०२४ मा ११ लाख ४७ हजार ५८७ पर्यटक भित्रिएका थिए।
सरकारले आर्थिक वर्ष २०८१/८२काे बजेटमा एक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाे छ।
यसअघि नेपाली काँग्रेस प्रमुख सचेत श्यामबहादुर घिमिरेले यौन व्यवसयालाई व्यवसायीकरण गरे नेपालमा पर्यटकको संख्या बढ्ने बताएका थिए।
