काठमाडौं। नेपालमा वन डढेलोको सिजन सुरु भएसँगै आगामी महिनाहरूमा यसको प्रभाव झन् भयावह हुन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।
हालै इन्फर्मेशन जियोग्राफी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, यदि डढेलो नियन्त्रण गर्न सकिएन भने ५०० मिलियन टन कार्बन वातावरणमा फैलिने खतरा छ।
अनुसन्धान अनुसार लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशमा डढेलोको जोखिम सबैभन्दा बढी छ। संरक्षित क्षेत्रहरू जस्तै चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागीको सम्भावना उच्च छ, जसले दुर्लभ जीव—बंगाल बाघ, एक सिंगे गैँडा र जङ्गली हात्तीको अस्तित्वलाई संकटमा पार्न सक्छ।
अध्ययनका प्रमुख लेखक, क्षितिज दाहाल (एरिजोना स्टेट युनिभर्सिटी)का अनुसार नेपाल जलवायु संकटको दुष्चक्रमा फस्दै गएको छ। ‘लस एन्जलसजस्तै, नेपालमा पनि गर्मी बढ्दै छ तर यहाँको जैविक विविधता झन् जोखिममा छ,’ उनले भने।
धुवाँको प्रदूषणले सहरमा हावा गुणस्तर घटाउने र श्वासप्रश्वाससम्बन्धी रोगहरू बढाउने सम्भावना छ। पर्यटन क्षेत्र (जसले जिडिपीको ४% ओगट्छ) प्रत्यक्ष रूपमा प्रभावित हुनसक्छ। जडीबुटी संकलन, औषधीय वनस्पति र आदिवासी समुदायहरूको जीविकोपार्जन संकटमा पर्नेछ।
विशेषज्ञहरूले तत्काल सामुदायिक गस्ती, एआई-आधारित प्रारम्भिक चेतावनी प्रणाली र अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताएका छन्। डा. प्रजल प्रधान (ग्रोनिङ्गन विश्वविद्यालय) का अनुसार डढेलो नियन्त्रण गर्नु मात्र समाधान होइन, जलवायु नीति र जैव विविधता संरक्षणलाई दिगो विकाससँग जोड्नुपर्छ।