पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात हुने भएकाे छ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एअरलाइनको सहकार्यमा आगामी चैत ५ गते पहिलो चार्टर उडान पोखरामा अवतरण गर्ने भएको हाे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको थिएन। यसलाई सम्भव बनाउन पर्यटन व्यवसायीहरूले नै सक्रिय पहल गरेका छन्। चीनस्थित चाइना ट्राभल इन्टरनेसनल छेन्दुको सहकार्यमा पहिलो उडानमा १२७ जना चिनियाँ पर्यटक पोखरा आउनेछन्। भने, सोही दिन १२७ नेपाली पर्यटन व्यवसायी चीनको छेन्दु प्रस्थान गर्नेछन्।
पहिलो उडानलाई विशेष बनाउँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पगारीलगायत पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।
नेपाल–चीन पर्यटन प्रवर्द्धन
उक्त भ्रमणका क्रममा नेपाली टोलीले सिचुवान प्रान्तका प्रमुख पर्यटकीय गन्तव्यहरू छेन्दु, लुझोउ, इमि, लिसन, छोङछिङको अवलोकन गर्नेछ। त्यहाँ नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली महावाणिज्य दूतावासको सहकार्यमा मार्च १९ मा छेन्दु र मार्च २२ मा छोङछिङमा ‘नेपाल इभनिङ टाइफ सेल्स मिसन’ कार्यक्रम आयोजना गरिनेछ।
पोखराका लागि आशाजनक संकेत
चिनियाँ दूतावास, सिचुवान एअरलाइन र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले आगामी तीन महिनासम्म करिब १,२५० चिनियाँ पर्यटकलाई पोखरा ल्याउने लक्ष्य राखेको छ। प्रारम्भिक चरणमा व्यवसायिक चार्टर उडानमार्फत सेवा सञ्चालन गरिनेछ भने लामो अवधिका लागि नियमित अन्तर्राष्ट्रिय उडानको सम्भावना खोजिँदैछ।
यो पहलले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।