काठमाडौं। नेकपा (एमाले) केन्द्रीय वन तथा वातावरण विभागले ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ‘लैङ्गिक उत्तरदायी जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) केन्द्रिय सदस्य एवं वन तथा वातावरण विभागका प्रमुख भारती पाठकले गरेकी थिइन् भने नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए।
प्रमुख अतिथि ज्ञवालीले जलवायु परिवर्तनले महिलाहरूलाई सबैभन्दा बढी प्रभावित बनाइरहेको उल्लेख गर्दै यसले उनीहरूको दैनन्दिन क्रियाकलापमा प्रत्यक्ष असर पार्ने बताए। उनले जलवायु वित्तदेखि जनस्तरसम्मका विषयमा नेकपा (एमाले) नीतिगत तहमा क्रियाशील रहेको उल्लेख गर्दै आगामी दिनमा थप विषयहरू समेट्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

ज्ञवालीले नेपाल हिमाली मुद्दामा च्याम्पियन बन्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै, सरकार सगरमाथा संवाद मार्फत जलवायु परिवर्तन र हिमालसम्बन्धी बहसलाई विश्वव्यापी रूपमा अघि बढाउने प्रयासमा लागेको बताए। आफू परराष्ट्रमन्त्री हुँदा परिकल्पना गरेको सगरमाथा संवाद मा केन्द्रीय वन तथा वातावरण विभागलाई नजिकबाट जोडिएर काम गर्न उनले आग्रह गरे।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य घनश्याम पाण्डेले जलवायु न्याय र महिला अधिकारका विषयमा नेकपा (एमाले) अग्रणी रूपमा वकालत गरिरहेको दाबी गर्दै अन्य दलहरूसँग भन्दा एमाले सँग यो विषयमा स्पष्ट दृष्टिकोण रहेको बताए।
कार्यक्रममा वन तथा वातावरण विभाग सदस्य एवं जलवायु डेस्क संयोजक अमृत देवकोटाले राजनीतिक पार्टीहरुले जलवायु न्यायको मुद्दामा किन र कसरी नेतृत्व लिन सक्छ र जलवायुको मुद्दा किन राजनीतिक मुद्दा बन्नुपर्छ भन्ने विषयमा विज्ञ प्रस्तुति गरेका थिए। उनले जलवायु न्यायलाई लैङ्गिक दृष्टिकोणसँग जोड्न आवश्यक रहेकोमा जोड दिए।

यस्तै, जलवायु सामाजिक नीति विज्ञ विष्णु खत्रीले जलवायुको सामाजिक,आर्थिक पक्ष र मुद्दालाई औंल्याए । कार्यशालामा डा. रूपा मुनकर्मी, महिला अधिकारकर्मी अनिता पाण्डे, सामाजिक अभियन्ता रूपा उप्रेती, प्रगतिशील वन प्रविधिक संघकी अध्यक्ष शोभा सुवेदी, , विभिन्न संघसंस्थाका विज्ञहरू, विभागका सदस्यहरू तथा पार्टीका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विभाग प्रमुख भारती पाठकले भविष्यमा यस्ता कार्यशालाहरू थप आयोजना गरिने बताइन्। साथै, जलवायु परिवर्तन न्यूनीकरणका लागि व्यवहारिक जीवनशैलीमा परिवर्तन आवश्यक रहेको र पार्टी तथा सरकारमार्फत नीति निर्माणमा सशक्त पैरवी गरिने उल्लेख गरिन्। कार्यक्रम सञ्चालन विभागका सचिव डा. किरण पौडेलले गरेका थिए।