काठमाडाैं। आज संसारभरि ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ। यस वर्षको नारी दिवसको नारा ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ रहेको छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। यस विशेष दिनको अवसरमा शुभकामना अर्पण गर्दै एभरेष्ट पेडिया डटकमले नौ नारीका नौ कवितालाई भिडियोमार्फत् प्रस्तुत गरेको छ:
विमला तुम्खेवा
तेह्रथुमको ओख्रेमा जन्मेकी विमला तुम्खेवा मोरङ्को पथरीमा हुर्किइन्। उनी पचासको दशकदेखि साहित्यमा समर्पित छिन्। उनी कथा, कविता, संस्मरण, फिचर र समाचार लेख्छिन्। हाल उनी सञ्चारिका समूह, नेपालको केन्द्रीय अध्यक्ष छिन्।
दुर्गाकिरण तिवारी
पर्यटनको राजधानी पोखरामा जन्मेकी दुर्गाकिरण तिवारी तीन दशकदेखि साहित्यमा सक्रिय छिन्। उनी कवितासँगै मुक्तक, गजल र कथा लेखनमा पनि समर्पित छिन्। उनका ‘नजरभरि माछापुच्छ्रे’ (२०७६) मुक्तक संग्रह र ‘नचुमेको क्षितिज’(२०७४) कविता संग्रह प्रकाशित छन्। उनका दुई सय बढी रचना पत्रपत्रिकामा पनि प्रकाशित छन्। उनी संस्कृति सम्पदा पुनः निर्माण र संरक्षण अभियानको नेतृत्वदायी भूमिकामा छिन्।
सुमन थापा ‘सङ्गम’
आफ्नी आमाको साहित्य रुचिबाट प्रभावित भएर बाल्यकालदेखि नै साहित्य सिर्जनामा सक्रिय सुमन थापा (संगम) को ‘माइतीघरको फूल’ कविता संग्रह र ‘प्रेमको अदिम गीत’ संयुक्त कविता संग्रह प्रकाशित छन्। उनी विशेषगरी सामाजिक घटनामा आधारित भएर चोटिला सिर्जना गर्छिन्। कविता, गीत र नियात्रा उनका प्रमुख विधा हुन्।
अनुपम रोशी
रुपन्देहीको रुद्रपुरमा जन्मे–हुर्केकी अनुपम रोशी साठीको दशकदेखि साहित्य साधनामा लागेकी हुन्। उनी कविता, उपन्यास, निबन्ध र कथा लेख्छिन्। उनका तीन ओटा उपन्यास ‘कुमारी आमा’, ‘कालो छायाँ’ र ‘नाङ्गो मान्छे’ प्रकाशित छन्, भने ‘मध्यान्तर’ कथा सङ्ग्रह पनि प्रकाशित छ। चाँडै एउटा निबन्ध सङ्ग्रह आउँदैछ।
लक्ष्मी रुम्बा
नुवाकोटको कविलासमा जन्मे–हुर्केकी लक्ष्मी रुम्बाले स्कुले जीवनदेखि लेख्न थालेकी हुन्। उनी कविता, नाटक र निबन्ध लेख्छिन्। हाल उनी नारीप्रधान पत्रिका ‘अस्मिता’को सम्पादक छिन्। उनको कविता सङ्ग्रह प्रकाशनको तयारीमा छ।
लक्ष्मी थापा
भक्तपुरको नङ्खेलमा जन्मे–हुर्केकी लक्ष्मी थापाले कक्षा ४ पढ्दादेखि नै कविता लेख्न थालेकी हुन्। उनी कविता, कथा, गीत, निबन्ध, समालोचना र नियात्रा लेख्छिन्। उनको ‘लक्ष्मी पक्कै आउँछिन्’ बालकथा सङ्ग्रह प्रकाशित छ। हाल उनी ख्वप कलेज, भक्तपुरमा नेपाली र पत्रकारिता पढाउँछिन्।
रमी प्रिया
आरुघाट गोरखामा जन्मेहुर्केकी रमी प्रिया शङ्खमुलमा बस्छिन्। उनी कविता र गीत लेख्छिन्। उनको एउटा संयुक्त कविता सङ्ग्रह ‘प्रेमको आदिम गीत’ प्रकाशित छ। चाँडै एउटा कविता सङ्ग्रह प्रकाशित हुँदैछ।
सुष्मा आचार्य (अंशु)
ललितपुरको गोदावरीमा जन्मे–हुर्केकी सुष्मा आचार्य ‘अंशु’ कविता, मुक्तक, गीत, कथा र लेख लेख्छिन्। उनका तीन ओटा संयुक्त सङ्ग्रह ‘प्रतिविम्ब’, ‘गीत गङ्गा’ र ‘निषेधाज्ञाका प्रतिविम्बहरू’ प्रकाशित छन्। त्यस्तै एकल कविता सङ्ग्रह ‘अक्षरको आयातन’ प्रकाशित छ। उनी ‘शान्ति शिक्षा’ विषय पढाउँछिन्।
मिश्रा गुरुङ
शंखुवासभामा जन्मे–हुर्किएर सुनसरीमा स्थायी रुपमा बस्दै आएकी मिश्रा गुरुङ तीन दशक बढी समयदेखि साहित्यमा सक्रिय छिन्। मिश्राका कवितासँगै गीत, गजल र मुक्तक विधा हुन्। उनी सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेशकी अध्यक्ष हुन्। त्यस्तै उनी गुरुङ साहित्यिक मञ्च नेपालको सञ्चालक समिति सदस्य तथा कोशी प्रदेशको संयोजकको भूमिकामा छिन्।