काठमाडौं। हिमालय एयरलाइन्सले पोखरा-ल्हासा जाेड्न साप्ताहिक उडान सञ्चालन गर्ने भएकाे छ। एयरलाइन्सले ३१ मार्च २०२५ देखि उडान सुरू गर्न लागेकाे हाे।
नेपालको पर्यटन उद्योगलाई प्रोत्साहित गर्दै अन्तर्राष्ट्रिय यात्रा सञ्जाललाई थप सुलभ बनाउने लक्ष्यसहित पाेखरा-ल्हासा उडान सञ्चालन गर्न लागेकाे एयरलाइन्सले जनाएकाे छ।
सुरुमा यो उडान काठमाडौँ-ल्हासा-पोखरा-ल्हासा-काठमाडौँ मार्गमा साप्ताहिक रूपमा संचालन हुनेछ। र, माग अनुसार उडान बढाउने योजना रहेकाे एयरलाइन्सले जनाएकाे छ।
प्रारम्भिक योजनाअनुसार, काठमाडौँ-ल्हासा उडान (H9 774) ३१ मार्च २०२५मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:३० बजे उड्नेछ र ल्हासा गोंग्गार विमानस्थलमा चीनको स्थानीय समयअनुसार १२:०५ बजे पुग्नेछ। त्यस्तै, ल्हासा-पोखरा उडान (H9 731) ३१ मार्च २०२५ मा ल्हासा गोंग्गार विमानस्थलबाट अपराह्न १:१५ बजे उडेर पोखरा विमानस्थलमा नेपाल समयअनुसार १२:४५ बजे अवतरण गर्नेछ।
पोखरा-ल्हासा उडान (H9 732) १ अप्रिल २०२५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:२० बजे उडेर ल्हासा गोंग्गार विमानस्थलमा चीनको स्थानीय समयअनुसार १२:०५ बजे पुग्नेछ। ल्हासा-काठमाडौँ उडान (H9 775) १ अप्रिल २०२५ मा ल्हासा गोंग्गार विमानस्थलबाट अपराह्न १:१५ बजे उडेर काठमाडौँ विमानस्थलमा नेपाल समयअनुसार १२:३५ बजे अवतरण गर्नेछ।
यात्रुहरूले हिमालय एयरलाइन्सका काठमाडौँ-ल्हासा-पोखरा-ल्हासा-काठमाडौँ उडानका टिकट हिमालय एयरलाइन्सका टिकट काउन्टर, एजेन्सी र एयरलाइन्सको आधिकारिक वेबसाइट (www.himalaya-airlines.com) तथा मोबाइल एप्लिकेसनबाट बुक गर्न सक्नेछन्।
