काठमाडौं। जर्मनीको बर्लिनमा सुरु भएको विश्वप्रसिद्ध यात्रा व्यापार मेला आईटीबी बर्लिन- २०२५ मा नेपाल पर्यटन बोर्डले नेपाल पभेलियन स्थापना गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार पभेलियनको उद्घाटन गरेका छन्।
नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न नेपाल पर्यटन बोर्डले २८ पर्यटन व्यवसायीहरूलाई यस मेलामा प्रतिनिधित्व गराएको छ। ट्रेकिङ, साहसिक पर्यटन, सांस्कृतिक अन्वेषण तथा प्रिमियम आतिथ्य सेवाका प्रदायकहरू यस मञ्चमा सहभागी भएका छन्।
नेपाल पभेलियनमा हिमाल, प्रकृति, संस्कृति र साहसिक पर्यटनका विविध पक्षहरू उजागर गरिएका छन्। नेपालका अद्वितीय पर्यटकीय सम्भावनाबारे प्रकाश पार्दै मन्त्री पाण्डेले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध रहेको बताए।
नेपाल पभेलियनको उद्घाटन समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, तथा विभिन्न मुलुकका पर्यटन व्यवसायीहरूको उपस्थिति थियो।
नेपाल पर्यटन बोर्डका प्रमुख जोशीका अनुसार आईटीबी बर्लिनजस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिले पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने छ। यसले नेपाललाई विश्वभरका साहसिक पर्यटकका लागि थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
सन् १९९६देखि सञ्चालनमा रहेको आईटीबी बर्लिन विश्वकै सबैभन्दा ठूलो यात्रा व्यापार मेला हो, जसमा १८० भन्दा बढी देशका १०,०००भन्दा बढी पर्यटन व्यवसायीहरू सहभागी छन्। नेपालले यो मञ्चलाई आफ्नो पर्यटन उत्पादनहरू विश्वसामु चिनाउने रणनीतिक अवसरका रूपमा प्रयोग गर्दै आएको छ।