रोल्पा। यस वर्षको दोस्रो हिमपातसँगै रोल्पाको धरमपानी दक्षिण क्षेत्रमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ। जलजला बेस क्याम्प (२३०० मिटर) मा दुई देखि तीन फिटसम्म हिउँ जमेपछि हिउँ खेल्न मनपराउने पर्यटकहरूले यस क्षेत्रलाई रोजेका हुन्।
लिवाङका स्थानीय रमेश अधिकारी साथीहरूसँग फागुन १८ गते बिहानै बेस क्याम्प पुगेर त्यहाँबाट झण्डै एक घण्टा गाडी चढेर पोखरानेता थाप्लो पुगे। ‘जिन्दगीमा पहिलो पटक हिउँ खेल्न आएँ, स्वर्गमै पुगेको अनुभूति भयो,’ अधिकारीले भने।

पोखरानेता थाप्लोमा पर्यटकहरू आ-आफ्नै तरिकाले रमाइरहेका देखिन्छन्। कोही हिउँमा लडिबुडी गरिरहेका छन् भने कोही आपसमा हिउँ छ्यापाछ्याप गरिरहेका छन्। टिकटक बनाउने र फोटो खिच्न मनपराउनेहरू पनि प्रशस्त छन्।
जलजला क्षेत्रका पर्यटन अभियन्ता बालकुराम पुनका अनुसार यो क्षेत्र वर्षैभरि घुम्न सकिने आकर्षक गन्तव्य हो।‘बर्खामा भुइँफूल र कुहिरो, असोज-कात्तिकमा हिमाल, मंसिर-फागुनमा हिउँ र चैत-बैशाखमा लालीगुराँसको बैंस हेर्न पाइन्छ,’ उनले बताए।
चराको चिरबिर, जंगली जनावरको आवाज, वनजंगल, मनोरम दृश्य, चिसो हावापानी, हिमालसँगको सामिप्यता र सुन्दर जेलबाङ गाउँ यस क्षेत्रका विशेषता हुन्।
सुझाब
- बाक्लो हिउँ जमेकाबेला ओखरेनीभन्दा मास्तिर बाइक वा जिप यात्रा सम्भव छैन। हाललाई पदयात्रा गर्नुपर्छ। त्यसैले ट्रेकिङ बुट र लौरो जरुरी हुन्छ।
- न्याना कपडा लगाउने। निधार छोप्ने माकल टोपी लगाउने र हिउँको रिफ्लेक्सनबाट बच्न कालो चश्मा लगाउने।
- ओखरेनीमा बिजुली छैन मोबाइल फोन चार्जका लागि व्याकअप बोक्ने। अन्धाधुन्ध फोटो तथा तस्बिर नखिच्ने, ब्याट्रि बचत गर्ने।
- ओखरेनीमा फोन लाग्दैन। तर मोबाइलमा म्यासेज आदानप्रदान हुन्छ।
- हिउँमा हिँड्न सजिलो हुँदैन। थर्मसमा तातोपानी बोकेमा ठाउँठाउँमा थोरैथोरै पानी पिउँदै हिँड्न सकिन्छ। सुस्तरी उकालो चढ्ने।
- पदयात्राका लागि झोलामा खाजा र पानी बोक्ने। साँझका लागि टर्चलाइट पनि। अर्को कुरा सिल्पिङ ब्याग बोकेमा राम्रो हुन्छ।
- ओखरेेनी जलजला बेस क्याम्पको विषयमा राम्रोसंग बुझेर यात्रा गरेमा सजिलो हुन्छ।
कसरी पुग्ने?
लिवाङ –ओखरेनी ३३ कि.मि.।
फोर्बेल जीप चल्छन्। मोटरसाइकल बेस क्याम्पमै पुग्छ।
ओखरेनी - पोखरानेता या धरमपानी दक्षिण १० कि.मि. हिँडेर २/३घन्टा। हिउँ नभएका बेला पोखरानेता सम्म मोटरबाइक वा जिपमा जान सकिन्छ।