पाेखरा। एभरेस्ट पेडिया डटकमले ‘पोखरा साहित्य उत्सव’ मनाउन केही प्रतिभाहरूको सिर्जना पस्कने जर्मको गरेको छ। त्यसक्रममा रत्नाकुमारी विश्वकर्मा, लक्ष्मण थापा, रुद्रबहादुर थापा मगर, धनबहादुर नेपाली, सरस्वती श्रेष्ठ ‘सरु’, इन्द्र राना ‘प्रतीक’, केशु शर्मा, लक्ष्मी थापा, धनप्रसाद तामाङ, जीवनसागर भण्डारी, पूर्णिमा प्रतिविम्ब, सुरेश रानाभाट, रोशन तलिगोठ्याल र रामजी आचार्यका कविताको भिडियो रेकर्ड गरेको छ।
रत्नाकुमारी विश्वकर्मा
पोखरा महानगरपालिका वडा नंं: १६ लामाचौरमा बसोबास गर्दै आएकी रत्नाकुमारी विश्वकर्मा कथा, समालोचन र कविता लेख्छिन्। उनी स्थानीय घार्मीस्थित महेन्द्र मा.वी.मा पढाउँछिन्। साथै र्यान्डम रिडर्स सोसाइटी नेपालकी सदस्य पनि हुन्।
लक्ष्मण थापा
पोखरा महानगरपालिका वडा नं. १८ सराङ्कोटमा जन्मेर पोखराको बैदाममा हुर्केका लक्ष्मण थापा कविता, मुक्तक, लघुकथा, गजल र गीत लेख्छन्। उनका दुई ओटा गजल सङ्ग्रह ‘मनको मुर्च्छना’ र ‘पलापला’ तथा एउटा मुक्तक सङ्ग्रह ‘पर्खाल बाहिर’ प्रकाशित छन्। त्यस्तै कविता सङ्ग्रह ‘अक्षरहरूको मुर्छना’ र लघुकथा सङ्ग्रह ‘मान्छे हराएको मान्छे’ प्रकाशित छन्। उनी नवनित साहित्य सागर र अक्षर यात्राका अभियन्ता हुन्।
रुद्रबहादुर थापा मगर
रुपाकोट गाउँपालिका– ६, मोहरिया गाउँमा जन्मेहुर्केका रुद्रबहादुर थापा आध्यात्मिक चिन्तक हुन्। पत्रकारिता र साहित्यमा स्थापित उनी मुक्तक, कविता, गीत र लेख लेख्छन्। उनका मगर भाषाका दुई ओटा र नेपाली भाषाका एक गरी ३ ओटा गीति काव्य, दुई ओटा मुक्तक सङ्ग्रह तथा तीन ओटा वेदान्त काव्य प्रकाशित छन्। उनी फेवा पोस्ट साप्ताहिक पत्रिकासँग सम्बद्ध छन्।
इन्द्र राना ‘प्रतीक’
पुर्ख्याैली थलो स्याङ्जा भएका इन्द्र राना ‘प्रतीक’ पोखरामा बसेर साहित्य साधना गर्छन्। कथा र कविता लेख्छन्। उनी ‘मजदुर कवि’का रुपमा सम्मानित छन्। वि.सं. २०३८ सालदेखि कविताकर्ममा लागेका उनको पहिलो कृति ‘भुइँमान्छेका कविता’ हो। उनी पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुको नरिवल फोर्ने काम गर्दै आएका छन्।
धनबहादुर नेपाली
पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा जन्मेहुर्केका धनबहादुर नेपाली १७ वर्षको उमेरदेखि नै कविता लेखनमा सक्रिय छन्। उनी कविताबाहेक मुक्तक, लघुकथा र लेखहरू लेख्छन्। उनको कविता सङ्ग्रह ‘रोकिँदैनन् खरपसले इच्छाहरू, दैनिकी लेखन सङ्ग्रह ‘जनश्रममा पाइलाहरू’ र समसामयिक लेखहरूको सङ्गालो ‘चरासरी आकाशमा’ प्रकाशित छन्। उनी प्रगतिशील लेखक संघ र साहित्य सृङ्खलामा आबद्ध छन्।
सरस्वती श्रेष्ठ ‘सरु’
लमजुङको सोतीपसलमा जन्मेहुर्केकीको सरस्वती श्रेष्ठ पोखरामा बसेर साहित्य साधना गर्दै आएकी छिन्। उनी कविता, गीत, मुक्तक र लघुकथा लेख्छिन्। उनी बालसाहित्यमा स्थापित छिन्। उनका दुइटा कविता सङ्ग्रह ‘एक झुल्को घाम ओर्लेर सडकमा’ र ‘फूलहरूको आँधी’ प्रकाशित छन्। भने, ‘थुङ्गाथुङ्गा जिन्दगानी’ गीत सङ्ग्रह। त्यसैगरी बालकथा सङ्ग्रह ‘किट्टी’ प्रकाशित छ। उनी मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छिन्।
केशु शर्मा
पोखरा महानगरपालिका वडा नं. ३ नदिपुरमा जन्मे-हुर्केकी पचासको दशकदेखि कविता, गीत र कविता लेख्छिन्। उनी पोखरेली युवा सांस्कृतिक परिवारसँग सम्बद्ध छिन्। उनी पोखराको मदरल्यान्ड मा.वि.मा पढाउँछिन्।
लक्ष्मी थापा
कास्कीको रुपाकोटमा जन्मे-हुर्केकी लक्ष्मी थापा पोखरामा बसेर डेढ दशकदेखि साहित्यकर्ममा सक्रिय छिन्। उनी कविता, गजल, मुक्तक र लेखहरू लेख्छिन्। उनी नदीपुरको अन्नपूर्ण माविमा पढाउँछिन्। उनी कविता सङ्ग्रह प्रकाशनको तयारीमा छिन्।
धनप्रसाद तामाङ
कास्कीको मादी गाउँपालिका वडा नं. ११ मा जन्मिएका धनप्रसाद तामाङ लामो समयदेखि साहित्य लेखन र सांस्कृतिक अभियानमा सक्रिय छन्। उनी लघुकथा, निबन्ध, कविताका साथै नाटक विधामा कलम चलाउँछन्। विशेषगरी तामाङ मातृभाषामा लेख्ने उनले तामाङ भाषाको शब्दकोष निर्माण र पुस्तक प्रकाशन गरेका छन्। तामाङ मातृभाषाको ह्यूल र निर्वाङ पत्रिकाका सम्पादकसमेत रहेका धनप्रसाद साहित्य र संस्कृतिसम्बन्धी विभिन्न अभियानमा सक्रिय छन्। उनी संरक्षण कविता आन्दोलनको ६ जना संस्थापक सदस्यमध्येका एक हुन्।
पूर्णिमा प्रतिविम्ब
पोखरा महानगरपालिका– २३, ठुलाखेतमा जन्मेहुर्केकी पूर्णिमा प्रतिविम्ब कविता, गजल र मुक्तक लेख्छिन्। विद्यालय जीवनदेखि नै साहित्यमा समर्पित उनी पत्रकार हुन्। उनी रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा कार्यरत छिन्। अब कविता, गजल र मुक्तकको संयुक्त पुस्तक प्रकाशन गर्ने उनको योजना छ।
सुरेश रानाभाट
तनहुँको म्याग्दे गाउँपालिकामा जन्मे–हुर्केर कास्कीको पोखरालाई कर्मथलो बनाएका सरेश रानाभाट तीन दशकभन्दा बढी समयदेखि साहित्यमा सक्रिय छन्। उनी कवितासँगै निबन्ध र आख्यान पनि लेख्ने गर्छन्। साहित्य सिर्जनासँगै उनी प्राध्यापन र पत्रकारिता गर्छन्।
रामजी आचार्य
कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ ढिकीडाँडामा जन्मे–हुर्केका रामजी आचार्य दुई दशकदेखि साहित्यमा सक्रिय छन्। मुक्तक, कथा र कविता लेखनमा कलम चाउने उनको वि.सं. २०७० मा ‘खबरदार’ मुक्तक संग्रह प्रकाशित भएको छ। उनले हाल दीपशिखा साहित्य संगमको नेतृत्व गरिरहेका छन्। यसमार्फत् पोखरामा पुस्तकालयको स्थापना गरिएको छ।
रोशन तलिगोठ्याल
सुदूरपश्चिमको बाजुरा जिल्ला, बुढीनन्दा नगरपालिका– १, थिपिचौरमा जन्मे-हुर्केका रोशन तलिगोठ्याल कविता, मुक्तक र कथा लेख्छन्। दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएका उनी मुक्तक मञ्च पोखराका पूर्वसहसचिव हुन्। उनी पोखरा विश्वविद्यालयबाट विकास अध्ययनमा पिचएडी गर्दैछन्।