काठमाडौं। ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना २३ जना सदस्यलाई सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नंं.३ मा अवस्थित पवित्र धार्मिकस्थल ‘पाँचपोखरी’मा पदयात्रा गराएको छ। यही फागुन १४ देखि १८ गतेसम्म पदयात्रा गरेर उनीहरू आइतबार काठमाडौं फर्केका छन्।
हिउँले ढपक्कै ढाकिएको पाँचपोखरीमा सुझबुझपूर्ण ढङ्गले साहसिक पदयात्रा गरेर ‘प्रकृतिप्रेमी समूह’ सकुशल काठमाडौं फर्केको छ।
उनीहरूको पदयात्रा एकदमै रोमाञ्चक र साहसिक बन्न पुग्यो। समूह शुक्रबार अपरान्ह पाँचपोखरी पुगेको हो। नोस्यामपाटीबाट पदयात्रा सुरु गरेको केही समयपछि फुस्फुस् हिउँ पर्न थाल्यो। पाँचपोखरी पुगुँञ्जेलसम्म पनि हिउँ पर्दै थियो। बर्सादी ओढेर हिउँमा टेक्दै उनीहरू करिब ६ घण्टामा पाँचपोखरी पुगे।
हिउँले छोपिएको पाँचपोखरी क्षेत्र
बिहान उठ्दा रातभर परेको हिउँले पाँचपोखरी ढपक्कै ढाकिएको थियो। बिहान पनि हावा चलिरह्यो। हिउँ परिरह्यो। त्यही बीचमा उनीहरूले टाढैबाट पोखरीहरूको दर्शन गरे।
पदयात्रा टोलीको नेतृत्व समूहकी सचिव एवम् ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक राम देवी महर्जनले गरेकी थिइन्। उनले सुझबुझपूर्ण ढङ्गले साहसिक पदयात्रा गराइन्। शनिबार बिहान केही युवाको सहयोग लिएर हिउँमा बाटो खुलाई उनीहरूलाई तल ओरालियो। चोकर डाँडाको शिरसम्मै हिउँ परेको थियो। फर्कंदा पनि उनीहरू करिब पाँच घण्टा हिउँमा हिँडे।
‘हिउँमय यात्रा अबिस्मरणीय बन्यो’, टोली नेता महर्जनले भनिन्, ‘यस पदयात्राले हामीलाई धैर्य र संयम बन्ने पाठ पनि सिकायो। धैर्यपूर्वक नआत्तिकन पदयात्रा गर्ने सम्पूर्ण सहयात्रीहरू र सहयोगीप्रति आभारी छु।’
पदयात्रा संयोजक एवम् हाइकिङविज्ञ राम देवी महर्जन
पदयात्रामा विभिन्न पेशा तथा व्यवसायका पदयात्रीको सहभागिता थियो। उमेर ६७ वर्षसम्मका पदयात्री थिए। पाँचपोखरी पदयात्रीहरूमा राम देवी महर्जन, विनोद तिमिल्सिना, तेजराम महर्जन, रमेशप्रसाद सुवेदी, बासुदेव लोहनी, ओमप्रकाश श्रेष्ठ, उत्तमरत्न शाक्य, अनन्तजिवी घिमिरे, बद्रि देशार, पूर्ण सिं महर्जन, अष्टमाया डँगोल, नरेशमान सिंह तुलाधर, बिपुला घिमिरे, रजनी श्रेष्ठ, बसञ्ती श्रेष्ठ, सबिना महर्जन, शेरबहादुर महर्जन, लेखमान अवाले, चन्द्रकला गौतम, उषा थापा, सुमन लुइँटेल, सञ्जय अधिकारी र अमृत भादगाउँले हुन्।
हिउँमा पदयात्री
पदयात्रीलाई एक्लमटाइज गराउँदै हिँडाइयो। उनीहरूलाई पहिलो दिन समूहको सातदोबाटोस्थित कार्यालय निरोगधामबाट गाडीमा सिन्धुपाल्चोकको छिम्तीसम्म पु¥याइएको थियो। त्यहाँ पुगेर काले दाईको होमस्टेमा खाना खुवाएपछि पदयात्रा शुभारम्भ गरियो। करिब ४ घण्टा उकालो चढेर पहिलो बास टुप्पी डाँडा (२,७०० मिटर) स्थित काले दाइको होटलमा बसाइयो।
दोस्रो दिन करिब ६ घण्टा हिँडाएर उनीहरूलाई नोस्यामपाटी (३,७०० मिटर) पु¥याएर बास बसाइयो।
सूर्योदयका बेला जुगल हिमसृङ्खला
तेस्रो दिन उनीहरूको बास पाँचपोखरी (४,१०० मिटर)मा भयो भने चौंथो बास रातोमाटेको फेदीमा। पाँचौं दिन बिहान उनीहरूलाई छिम्तीसम्म पदयात्रा गराइयो। छिम्तीमा काले दाइको होमस्टेमा खाना खुवाएर गाडीमा साँझ काठमाडौं ल्याइयो।
स्मरणीय छ, प्राकृतिक स्वास्थ्यका पक्षमा पैरवी गर्दै जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसले बेलाबेलामा लामो दूरीको पदयात्रा पनि गराउँछ। केही समय अघि दोलखाको चेर्दुङमा पनि पदयात्रा गराएको थियो।
समूहको पदयात्रामा स्वास्थ्यबद्र्धक शाकाहारी खाना मात्र खुवाइन्छ। फास्टफुड, जंकफुड र मदिरा निषेध छ। शाकाहारी भोजन गरेर पदयात्रीले सकुशल पाँचपोखरी पदयात्रा पुरा गरे। रोमाञ्चक पदयात्रा गर्न पाउँदा सबै पदयात्री दंग बनेका छन्।
लौरीबिनाको उकालो
छोटो तथा मिठो पदयात्राका लागि पाँचपोखरी पदमार्ग प्रख्यात छ। यहाँका पोखरीहरूमा जनैपूर्णिमाका दिन मेला लाग्छ। काठमाडौंबाट निस्कनेहरूले पाँचपोखरी पदयात्रा गर्न पाँच दिन छुट्टयाउनु पर्दछ। पहिलो बास टुप्पीडाँडामा, दोस्रो बास नोस्याम पाटीमा, तेस्रो बास पाँचपोखरीमा र चौंथो बास टुप्पीडाँडामा बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ।
जुगल हिमाल
छिम्ती
रोमाञ्चक पदयात्रा
फर्किरहेका पदयात्री
प्रकृतिप्रेमी समूह
काले दाईको होमस्टेमा खाना
पदयात्रा संयोजकका साथमा सहयोगीहरू
जीवन साथी कान्छी लामाका साथमा काले दाई

