पोखरा। प्रगतिशील साहित्यकार भीम रानाभाटको नयाँ कृति ‘सम्झनाको सेरोफेरो’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। गण्डकी साहित्य सङ्गमको आयोजनामा गत बुधबार भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू डा. कृष्णराज अधिकारी, प्राज्ञ सभा सदस्य नारायण मरासिनी र लेखक रामराज रेग्मीले र साहित्यकारहरूको उपस्थितिमा पुस्तक लोर्कापण गरिएको हो।
कृतिमा लेखकले जीवनयात्राका क्रममा भेटेका व्यक्ति र स्थानहरूसँग जोडिएका १९ वटा संस्मरणहरू समेटिएका छन्। समीक्षकहरूले यस कृतिलाई जीवनवादी सौन्दर्यशास्त्रको उत्कृष्ट उदाहरण बताएका छन्।
प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका डा. कृष्णराज अधिकारीले ‘भीम इमानदार लेखक हुन्, र उनको लेखनले पाठकलाई तुरुन्तै आकर्षित गर्ने क्षमता राख्दछ,’ भनी रानाभाटको प्रशंसा समेत गरेका थिए।

कार्यक्रममा सहभागी साहित्यकार रुपिन्द्र प्रभावीले भने, ‘संस्मरणमा विचार पक्षलाई अत्यन्त प्रभावकारी ढंगले समावेश गरिएको उनका संस्मरणले पाठकलाई नेपालका विभिन्न भूभागको भ्रमण गराउन सफल भएको छ।’
कार्यक्रममा लेखक रानाभाटले भने, ‘मैले जीवनमा भोगेका र देखेका कुराहरूलाई इमानदारीपूर्वक लेख्ने प्रयास गरेको छु। मेरो लेखनले समाजका किनारीकृत वर्गलाई केही योगदान दिन सकोस् भन्ने मेरो चाहना रहेको छ।’
वि।सं। २०२३ मा तनहुँको म्याग्दे गाउँपालिकामा जन्मिएका रानाभाटका यसअघि पाँच पुस्तकहरू प्रकाशित भइसकेका छन्।