विवेक ओझा नेपाली साहित्यको चर्चित नाम हुन्। सुदूरपश्चिमको अछाममा वि.सं. २०४८ मा जन्मेका ओझा आफ्नो सूक्ष्म अवलोकन र सहज लेखनशैलीका लागि चिनिन्छन्। उनको ‘एैंठन’ उपन्यासले वि.सं. २०७९ मा प्रतिष्ठित मदन पुरस्कार जित्यो भने ‘ऐलानी’ पनि पाठकमाझ निकै लोकप्रिय बन्यो। वि.सं. २०७० मा प्रकाशित ‘एक पाइला आकाशमा’ गजलसङ्ग्रहबाट साहित्यिक यात्रा सुरु गरेका ओझा अहिले काठमाडौंमा बसेर साहित्य साधनामा समर्पित छन्। साहित्यप्रेमी मात्र होइन, यात्राप्रेमी पनि हुन् ओझा। उनका यात्राका रोचक अनुभवहरू यहाँ प्रस्तुत गरिएको छ।
‘घुमफिर रुचिको विषय हो। यात्राको क्रममा म जनजीवनको अध्ययन गर्ने गर्दछु। मेरो यात्राको उद्देश्य यहीँ हो।’
सातो उड्ने यात्रा
गुराँसले ढाकेको पहाडी बाटो र वैशाखको उज्यालो घाम। चार जना साथीहरू एउटा ट्रकमा दार्चुला तिर लागेका थियौँ। मेरो दार्चुला जानुपर्ने थियो, ठेक्काको काम गर्ने साथीको ट्रक पनि संयोगले त्यतै जाँदै थियो। सामान्य यात्रा जस्तै सुरु भएको त्यस दिन, हामीलाई थाहा थिएन कि यो यात्रा हाम्रो जीवनकै एक अविस्मरणीय क्षण बन्न गइरहेको छ।

यात्रा सुरु भएपछि ट्रकमा केही प्राविधिक समस्याहरू देखिन थाले। ब्रेकसँग सम्बन्धित ती समस्याहरूले बाटोभरि हामीलाई सताइरहे। तर सबैभन्दा डरलाग्दो क्षण त्यतिबेला आयो, जब पहाडी घुम्तीबाटोमा हाम्रो चालकले अचानक भने, “म त खतरा हो नि सर।“
मैले अलिक अचम्म मान्दै सोधें, ‘किन र?’
उसको जवाफले मेरो सातो उडायो। ‘म त पहिलो चोटी पहाडीबाटो आएको हो नि।’
त्यसक्षण, मेरो मनमा डर उत्पन्न भयो। एकातिर ट्रकको ब्रेकमा समस्या, अर्कोतिर पहाडी बाटोमा अनुभवहीन चालक। तर मैले मनमा लागेको डर लुकाएर ‘ठिकै छ’ भन्ने प्रतिक्रिया मात्र दिएँ। मैले सोचें, मानिसलाई धेरै उत्साहित बनाउनु पनि भएन, निरुत्साहित बनाउनु पनि भएन। यसमा मेरो आफ्नै स्वार्थ पनि थियो – चालक तनावमा नपरोस्, तर अति आत्मविश्वासी पनि नहोस्।
दार्चुलाको सदरमुकाम आइपुग्नु भन्दा केही अगाडि, महाकालीको किनारमा एउटा ‘यू’ आकारको घुम्ती आयो। त्यो उकालो बाटोमा ट्रकको ब्रेकले काम गरेन, र ट्रक पछाडितिर सर्न थाल्यो। त्यही क्षणमा ट्रकका सहचालक र म तल झ¥यौं र चक्कामा ओट लगाएर हामीले ट्रक रोक्न सफल भयौं।
त्यस दिन ट्रक रोक्न नसकेको भए हामी महाकाली नदीमा खस्ने थियौँ। दार्चुला पुगेर मात्र लामो सास फेरियो। त्यो यात्रा त्रासमै कट्यो, तर अहिले सम्झँदा रमाइलो लाग्छ।
अविस्मरणीय स्वाद
यात्राका क्रममा अचानक भेटिने खानाका स्वादहरू कहिलेकाहीं जीवनभर याद रहन्छन्। २०७६ साल तिरको कुरा हो दार्चुलाबाट भारतको उत्तराखण्ड माथि नारायणथान भन्ने आश्रम छ। मानसरोवार जाने बाटो पछ्याउँदै हिमाल हेर्ने मनले हामी ट्याक्सी लिएर बिहानै यात्रामा निस्केका थियौँ।
यात्राको क्रममा भोक लाग्यो। हामी एउटा विशेष स्थानमा पुग्यौँ – सडकको एक छेउमा झरना खसिरहेको, अर्को छेउमा एउटा सानो घर। टाढा–टाढासम्म अरु केही थिएन। त्यहाँ दुई जना बुढाबुढी बस्ने रहेछन्। उनीहरूले हामीलाई भात, चट्नी, लोकल कुखुराको झोल र मोही प्रस्ताव गरे।
मैले त्यो खाना खाएँ, र त्यसको स्वाद अहिलेसम्म पनि मेरो जिब्रोमा ताजा छ। जीवनमा मैले धेरै खाना खाएँ – सामान्य परिकारदेखि तारे होटलका व्यञ्जनसम्म। तर कसैले ‘तिमीले खाएको सबैभन्दा स्वादिलो खाना कुन हो?’ भनेर सोध्यो भने, म त्यही उत्तराखण्डको सामान्य भात, चट्नी, कुखुराको झोल र मोहीको नाम लिन्छु।
शायद भोकले गर्दा होला, वा त्यस बेलाको प्राकृतिक वातावरणले होला – हिमालको छायामा, झरनाको आवाजसँगै खाएको त्यो खाना अहिलेसम्म मेरो स्मृतिमा ताजा छ। खाना स्पेशल हुनुपर्छ भन्ने हुँदैन रहेछ, सामान्य कुराले पनि मानिसलाई आजीवन याद आइरहन्छ।
मेरो फेरि दार्चुलाको यात्रा गर्ने योजना छ। म त्यही ठाउँमा पुग्न चाहन्छु, त्यही खाना फेरि खान मन छ। करिब ३२०० मिटरको उचाइमा रहेको नारायणथान आश्रमसम्म पुग्ने इच्छा छ, जुन एक जना इञ्जिनियरले सन्यास धारण गरेर बनाएको रहेछ।

पहिचानको रहस्य
घुम्ने क्रममा कहिलेकाहीँ अनौठा अनुभवहरू पनि हुन्छन्। २०७६ सालमा, हामी केही साथीहरू एउटा कार्यक्रमको लागि भारतको सिलिगुढी गएका थियौँ। होटलमा बसेपछि, मलाई त्यहाँका स्थानीय मानिसहरूसँग अन्तरक्रिया गर्न मन लाग्यो।
मैले सोचें, अलिकति पहिरन पनि भारतीय जस्तै लगाएर गए भने कुरा गर्न सजिलो हुन्छ। त्यसैले म भारतीय शैलीको पोशाकमा त्यहाँका गल्लीहरूमा घुम्न थालें।
घुम्दा–घुम्दै एउटा होटलमा प्रवेश गरें। हिन्दी भाषामा ‘दशका चाय दो’ (दशको चिया दिनुहोस्) भनें। तर त्यहाँका साहुजीले मलाई तुरुन्तै नेपालीमा जवाफ दिए, ‘कति को दिउँ सर, अरु केही खानु हुन्छ?’
म छक्क परें। मैले भारतीय जस्तो देखिन पूरा प्रयास गरेको थिएँ, तर उनले मलाई एकै पटकमा नेपाली भनेर चिनिहाले। शायद हामी नेपालीहरूको सिलिगुढीमा हुने आवतजावतले गर्दा होला, वा हाम्रो विशेष लवज र चालढालले मेरो प्रयास असफल भयो।
म त्यहाँका मानिसहरूको कुरा सुन्ने र उनीहरूसँग अन्तरक्रिया गर्ने उद्देश्यले गएको थिएँ, तर अन्ततः म आफैं उनीहरूको अध्ययनको विषय बनेँ। हामी चाहेर पनि आफ्नो पहिचान, आफ्नो स्वभाव, र आफ्नो संस्कृतिलाई लुकाउन सक्दैनौँ यो रहस्य मैले त्यस दिन सिकें।
-1740905264.jpg)
अन्त्यमा
यात्रा केवल स्थान परिवर्तन मात्र होइन, यो आफैंलाई बुझ्ने, नयाँ अनुभव बटुल्ने, र आफ्नो दृष्टिकोण विस्तार गर्ने माध्यम हो। मेरा यी यात्राका अनुभवहरूले मलाई सिकाएका छन् कि जीवनका सबैभन्दा महत्त्वपूर्ण क्षणहरू प्रायः अप्रत्याशित हुन्छन्, र सामान्य देखिने कुराहरूमा पनि असाधारण सुन्दरता लुकेको हुन्छ।
मेरो अझै डोल्पा, मनाङ र मुस्ताङजस्ता ठाउँ घुम्ने इच्छा छ। त्यहाँका हिमाल, ताल र जनजीवनको अध्ययन गर्ने इच्छा छ। किनकि यात्रा मेरो लागि केवल घुमघाम मात्र होइन, यो जनजीवनको अध्ययन गर्ने, नयाँ संस्कृति बुझ्ने, र नयाँ अनुभवहरू संगालेर आफ्नो जीवनलाई समृद्ध बनाउने माध्यम हो।
(केही समय अघि विवेक ओझासँग गरिएको कुराकानीमा आधारित अंश)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो रमाइलो यात्रा अनुभव छ भने हामीलाई [email protected] मा इमेल गर्नुहोस्, हामी तपाईंका यात्रा अनुभव प्रकाशित गर्नछौं।