काठमाडाैं। नेपालले अन्तर्राष्ट्रिय माउन्टेन लिडर (आइएमएल)को मान्यता प्राप्त गरेकाे छ।
बिहीबार काठमाडाैंमा आयाेजित एक कार्यक्रमबीच नेपाल माउन्टेन लिडर संघ (एनएमएलए) र नेपाल पर्वतारोहण संघ (एनएमए)ले संयुक्त रूपमा नेपालले युनियन अफ इन्टरनेसनल माउन्टेन लिडर एसोसिएसन (यूआइएमएलए)को पूर्ण सदस्यता प्राप्त गरेको घोषणा गरे।
हाेटल आरान्य बुटिकस्थित एनएमए कार्यालयमा आयाेजित घोषणा समारोह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री अरुणकुमार चौधरीको प्रमुख आथिथ्यता र एनएमए अध्यक्ष निमा नुरु शेर्पाको अध्यक्षतामा सम्पन्न भएकाे हाे।
यूआइएमएलएले २ नोभेम्बर २०२४ मा उत्तर म्यासेडोनियामा आयोजित आफ्नो २०औं वार्षिक साधारणसभामार्फत नेपाललाई पूर्ण सदस्यताको मान्यता प्रदान गरेको थियाे। याे नेपाली पर्वतीय लिडरहरुकाे प्रशिक्षण र सेवाकाे दृष्टिकाेणले महत्वपूर्ण कदम हाे। यस उपलब्धिले नेपालमा सुरक्षित, व्यावसायिक र टिकाऊ पर्वतीय पर्यटन विकासलाई गति दिने अपेक्षा गरिएको छ।

एनएमएले यस अवसरमा प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण परिषद् (सिटिइभिटी)सँग सम्बद्ध १,६९६ घण्टे अवधिको ‘प्रोफेसनल माउन्टेन लिडर कोर्स’ सुरु गरेको छ। यस प्रशिक्षणमा पाँचवटा मुख्य चरण र अल्पकालीन विशेषज्ञता कोर्स समावेश छन्, जसमा आधारभूत कोर्स (फन्डामेन्टल कोर्स), ग्रीष्मकालीन सीप कोर्स (समर स्किल कोर्ष), हिउँदे सीप कोर्स (वीन्टर स्किल कोर्स), उच्च हिमाल कोर्स (हाई अल्टिच्युट कोर्स) र पर्वतीय चिकित्सा (८० घण्टेको इमर्जेन्सी फर्स्ट रेस्पोन्डर प्रशिक्षण)का साथै सांस्कृतिक परिचय, हिमाली वनस्पति, जीवजन्तुजस्ता विषयमा अतिरिक्त अल्पकालीन प्रशिक्षण दिएकाे छ।
यो कोर्स पूरा गर्न सरकारी ट्रेकिङ्ग गाइड लाइसेन्स र हिमाली क्षेत्रमा तीन वर्षको व्यावसायिक अनुभव आवश्यक छ। यसै प्रशिक्षण अन्तर्गत ३२ जनाले युआइएमएलए प्रमाणित माउन्टेन लिडरको उपाधि हासिल गरेका छन्। एनएमएका अध्यक्ष निमा नुरु शेर्पाले भने, ‘यो मान्यताले नेपाली पर्वतीय लिडरहरूको विश्वसनीयता अन्तर्राष्ट्रियस्तरमा उचाल्नेछ।’
त्यसैगरी राज्यमन्त्री चौधरीले प्रशिक्षणार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउन सक्ने सम्भावनाप्रति आशावादी भएकाे बताए। उनले भने, ‘वैश्विक उष्मीकरणका कारण हाम्रा हिमालहरूको अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको छ। अब यो हाम्रा हिमालहरूको रक्षा गर्ने हाम्रो पालो हो। म आशा राख्छु, यी प्रतिभाहरूले हाम्रा हिमालहरूको लागि मार्ग प्रशस्त गरी नेपाललाई विश्वमै गर्विलो बनाउनेछन्।’

प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल ट्रेकिङ एजेन्सी संघ (टान)का अध्यक्ष सागर पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए)लाई यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सरकारले समर्थन जारी राख्न आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र महासचिव मोहन लम्सालले आ-आफ्ना धारणा राखेका थिए।



