पोखरा। नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइसÞ२०२५’ (नेपाल इण्डिया चाइना एक्स्पो) हिजो (सोमबार) देखि शुरु भएको छ। नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा यो एक्स्पो फागुन १२ देखि १४ गतेसम्म संचालन हुनेछ।
एक्स्पोमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिबिटरसहित ६०० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको छ। पोखरा पर्यटन परिषद् तथा अन्य सरकारी र निजी क्षेत्रका संस्थाहरुको संयोजनमा आयोजित यस कार्यक्रमले तीन देशका सरकारी तथा निजी क्षेत्रका पर्यटन र आतिथ्य सरोकारवाला संस्थाहरूलाई एकै थलोमा ल्याएर व्यावसायिक अनुभव, नेटवर्किङ र व्यापारिक अवसरहरू प्रदान गर्नेछ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो एक्स्पो केवल एक कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताए। उनका अनुसार, ‘यो त्रिदेशीय एक्स्पोले विश्वका दुई ठूला आउटबाउण्ड पर्यटन बजारहरू—भारत र चीन—लाई नेपालमै एकत्रित गराउनका लागि सम्पूर्ण पर्यटन क्षेत्र एकजुट भएर अगाडि आएको छ।’
ुनाइस फर माईस एण्ड मोरु भन्ने नाराका साथ आयोजित यस एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभई माईस पर्यटन (बैठक, सभा–सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव र प्रदर्शनी) का लागि पनि आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
एक्स्पोको दोस्रो दिन फेब्रुअरी २५ मा ‘द नलेज फोरम’ अन्तर्गत ‘भिसा डेस्टिनेसन इनसाईट्स’ र ‘सस्टेनेबल हस्पिटालिटी’ लगायतका विषयमा पर्यटन विशेषज्ञहरूसँग ज्ञान आदानप्रदान हुनेछ। तेस्रो दिन बिटुबी एक्स्पो व्यापारिक बैठक र नेटवर्किङका कार्यक्रमहरू हुनेछन्।