पोखरा। पर्यटकीय नगरी पोखरामा अगामि अगस्टमा ‘ग्लोबल युथ फेस्ट’ आयोजना गर्ने १० बु“दे प्रतिबद्धतासहित फेवा युवा प्रतिबद्धता पत्र घोषणा जारी गरिएको छ। नेपाल युवा उत्सवको अवशरमा आयोजक संस्था दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालले आगामी अन्तराष्ट्रिय युवा दिवशका अवसरमा अगस्टमा पोखरामा ग्लोलब युथ फेस्ट गर्ने घोषणा गरेको हो।
उक्त घोषणा सहित दिगो विकासका अभियानमा सकृय भुमिका निर्बाह गर्ने कुरामा समेत प्रतिवद्धता व्यक्त गर्दै १० बु“दे फेवा युवा प्रतिबद्धता जारी गरिएको छ। आगामी अन्तर्राष्ट्रिय युवा दिवश अगस्ट १२ मा रहेको छ।
नेपालका सातै प्रदेशका युवाहरुको सहभागीतामा पोखरामा सामाजिक न्याय र समावेशीता, युवा नेतृत्व, वातावरण संरक्षण, वातावरणीय अधिकार, जलवायु न्याय र विपद् ब्यवस्थापन, सामाजिक–हरित उद्यमशिलता, कृतिम बौद्धिकता (एआई), दिगो पर्यटनका बिषयहरुमा छलफल गर्दै नेपाल युवा उत्सव शुक्रबार सकिएको हो।

घोषणा पत्रको पहिलो बु“दामा नेपालको संविधानको धारा ३० मा उल्लेखित स्वच्छ वातावरणको हकलाई प्रभावकारी कार्यान्वयन गर्न र वातावरण संरक्षणका मुद्दालाई प्राथमिकतामा राख्न आवश्यक भनिएको छ। साथै, युवाहरुको तर्फबाट नीतिगत बहस, पैरवी र पहलकदमीका लागि सदैव क्रियाशील रहने उल्लेख छ।
यस्तै, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र स्थानीय सवालहरुमा युवाहरुको सक्रिय सहभागिता सुनिश्चित गर्न, युवाहरुको समावेशी र अर्थपुर्ण सहभागिता तथा सबै सरोकारवालाहरुको मूलप्रवाहीकरणका लागि हामी निरन्तर प्रयासरत रहने दोस्रो बु“दामा भनिएको छ।
घोषणा पत्रको तेस्रो बु“दामा युवा, बालबालिका, महिला र सीमान्तक्रित, जोखिम समूहहरुको आर्थिक, सामाजिक तथा वातावरणीय जोखिमहरुको वातावरणीय अधिकार तथा जलवायु न्याय, वित्त तथा पर्वतीय मुद्दालाई कूटनीतिका माध्यमबाट मूलप्रवाहिकरण गरी कानुन, नीति, योजना र बजेटमा समावेश गर्न आवश्यक रहेको औंल्याइएको छ। साथै, वातावरण संरक्षण, विपद् व्यवस्थापन, प्रदूषण न्यूनीकरण र जलवायु अनुकूलन सम्बन्धी आवश्यक नीति तथा कार्यक्रम तय गर्नका लागि हामी सामूहिक र व्यक्तिगत रुपमा बहस पैरवी गर्न प्रतिबद्ध रहेको उल्लेख छ।
लोकतन्त्र, समावेशिता, मानवअधिकार तथा सामाजिक न्यायको अधिकारलाई प्रवद्र्धन र संरक्षण गरी सामाजिक न्याय र मानवअधिकारका सवालहरुमा अर्थपूर्ण युवा सहभागिता सुनिश्चित गर्न आवश्यक पहलकदमी गर्नु पर्ने चौथो बुँदामा भनिएको छ थप भनिएको छ,‘यी मुद्दाहरुमा युवाहरुको तर्फबाट बहस पैरवी र कार्यान्वयनका लागि हामी प्रतिबद्ध छौं।’
घोषणा पत्रको पाँचौ बुँदामा युवा सशक्तिकरण र स्थानीय स्तरमा स्थायित्वका लागि सामाजिक हरित उद्यमशीलतामा युवा रोजगारी प्रवर्धन तथा सहभागिता अभिवृद्धिका पहलकदमी गर्न प्रतिवद्ध रहेको उल्लेख छ। ‘युवाहरुका योजनाहरुलाई सुनिश्चित गर्नका लागि तीनै तहका सरकारमा सम्बद्ध निकायमा युवा परियोजना बैंकको स्थापना गर्नुपर्दछ। साथै युवाहरूको नवप्रवर्तनकारी योजनाहरूलाई वित्तीय र प्राविधिक सहयोग पुर्याउने व्यवस्था हुनुपर्दछ,’ छैटौं बुँदामा भनिएको छ।
घोषणा पत्रको सातौं बुँदामा वन तथा वातावरण मन्त्रालयको समयानुकूल पुनः नामाकरण गरी जलवायुका मुद्दालाई विशेष प्राथमिकता दि“दै वातावरण, वन तथा जलवायु मन्त्रालयको व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै, संयुक्त राष्ट्र संघले जनरल कमेन्ट–२६ मा बालबालिका र किशोरकिशोरीहरुको स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न स्थानीय तह, प्रदेश र संघमा अब बन्ने नीतिहरुमा कनरल कमेन्टलाई सम्बोधन गर्दै युवाका वर्गीय, भौगोलिक र सामाजिक विविधता र आवश्यकताका सवालहरुलाई यथोचित सम्बोधन गर्नका लागि हामी आ–आफ्नो स्थानबाट पहलकदमी गर्न प्रतिबद्ध रहेको भनिएको छ।
यस्तै, आठौं बुँदामा लैङ्गिक समावेशिता प्रवद्र्धन गर्न र हेरचाह अर्थतन्त्र मार्फत राष्ट्रिय अर्थतन्त्रमा विशेषगरी महिलाहरुले पुर्याएको योगदानको गणना र मूल्याङ्कन हुने व्यवस्था गर्नुपर्ने देखिएको भनिएको छ। ‘साथै, हामीले गर्ने गतिविधीहरुमा लैङ्गिक संवेदनशीलता र समावेशितामा विषेश ध्यान दिइनेछ,’ थप भनिएको छ।
नवौं बुँदामा विज्ञान, प्रविधि, र इथिकल एआईको प्रयोगबाट नवीन समाधान खोज्ने तथा एआईको प्रवर्धन गर्ने व्यवस्था गर्न उल्लेख छ। ‘जल, जंगल, जडीबुटी र खनिजमा आधारित विकास तथा रोजगारी सिर्जना गर्दै युवा सशक्तिकरण र नवप्रवर्तनलाई प्राथमिकता दिइयोस्,’ थप उल्लेख छ। अन्तिम तथा १० औं बुँदामा दिगो विकासको स्थानीयकरण गर्दै लक्ष्य हासिल गर्न अर्थपूर्ण युवा सहभागिता सहितको युवा नेतृत्व र लाभको साझेदारी सुनिश्चितता सहितको पहलकदमी गर्न आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ।
बुधबारबाट भएको युवा उत्सव कार्यक्रममा विभिन्न विषयमा छलफल भएको थियो। कार्यक्रमको समापन गण्डकी प्रदेशका वन तथा वातावरण भेषबहादुर पौडेलले गरेका थिए। उक्त अवशरमा उनले युवाहरुलाई आफूलाई मन परेको विषयमा निरन्तर लागेर काम गर्नको लागि प्रोत्साहन गरेको थिए। उक्त अवशरमा नेपाली जेन्जी युवा समूहहरुको सोच र योजनाका सम्बन्धी सर्वेक्षण गरिएको थियो। जेन्जी युवा समूहसँग सर्वेक्षणको प्रतिवेदनका निष्कष तथा निचोड कार्यान्वयनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरुमा पेश गरिने कार्य योजना गरेको संस्थाका अध्यक्ष सौरभ खनालले जानकारी दिए।
