हिमालको काखमा रहेको सोलुखुम्बुमा जन्मिएका इन्सुहाङ राईको जीवन एउटा रोचक मोड लिएर अघि बढ्यो। कसलाई थाहा थियो र, संगीतको धुन खोज्दै काठमाडौं आएका एक युवाको जीवनमा हिमालको धुनले यसरी प्रवेश पाउनेछ? ‘मेरो इच्छा पर्यटन क्षेत्रमा लाग्ने भन्ने चै थिएन सुरुवाती दिनहरुमा। म खास काठमाडौं संगीत सिक्न भनेर आएको हो,’ उनी आफ्नो विगतलाई सम्झँदै बताउँछन्।
सन् १९९७–९८ को समय। राजधानीमा सङ्गीतको साधनामा डुबेका इन्सुहाङका साथीहरू एक–एक गरी ट्रेकिङतर्फ आकर्षित हुन थाले। साथीहरूको संगतमा उनले पनि अन्नपूर्ण क्षेत्रमा पहिलो पाइला टेके – एक भरियाको रूपमा। ‘मैले पाएको तलब पनि ५५० रुपैयाँ थियो,’ उनी त्यो पहिलो यात्राको सम्झना गर्दै मुस्कुराउँछन्। २२ दिनको त्यो यात्रामा साथी गाइड भएकै कारण उनलाई धेरै भारी बोक्नु परेन। तर त्यो यात्राले उनको मनमा एउटा अनौठो भार थपिदियो – हिमालप्रतिको अनन्त मोह र प्रेमको भार, जसले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो।

‘संगीत भन्दा पनि पहिलो पटक ट्रेकिङ गएपछि त नजिकैबाट हिमाल देख्न, प्रकृतिको सौन्दर्यतामा रमाउन पाउँदा मलाई यो क्षेत्र प्रति लगाव बढ्दै गएको हो।’ हिमालको सौन्दर्य, प्रकृतिको मनमोहक दृश्य, र विदेशी पर्यटकहरूसँगको अन्तरक्रियाले उनलाई एक नयाँ संसारको देखायाे। त्यो समयका विदेशी पर्यटकहरूको मायालु व्यवहार, उनीहरूले दिने बक्सिस, र दैनिक नयाँ अनुभवहरूले उनलाई यस क्षेत्रप्रति झन् झन् आकर्षित गर्दै लग्यो।
तर यो यात्रा सजिलो थिएन। दुःख, कष्ट र चुनौतीहरूले भरिएको थियो। ‘त्यो समयमा सबै सँधै रमाइलो हुन्थ्यो भन्ने पनि थिएन। दुख पनि धेरै गर्नुपर्दथ्यो।’ हिउँचुलीमा चढ्दा पर्याप्त न्यानो लुगाको अभावमा शरीर काम्थ्यो। कहिले ओडारमा बास बस्नुपर्दथ्यो, कहिले भारीले ढाड दुख्थ्यो। त्यो समयमा नीति नियमहरू पनि स्पष्ट थिएनन्। कम्पनीहरूले दश जना भरियाको पैसा लिएर पाँच–छ जनालाई मात्र काममा लगाउँथे, जसले गर्दा भरियाहरूले धेरै भारी बोक्नुपथ्र्यो।
-1740134766.jpeg)
सबैभन्दा पीडादायी पक्ष त थियो – आवश्यक ज्ञान र साधनको अभावमा साथीहरूको मृत्यु हुने घटनाहरू। ‘त्यो समयमा चै मनमा डर हुन्थ्यो सामन्य चिसो रुघाखोकी लाग्दा पनि मरि पो हालिन्छ कि भन्न्ने डर पनि मनमा त आउँथ्यो।’ तर आज उनी ती दिनहरूलाई फर्केर हेर्दा बुझ्छन् कि त्यो डर ज्ञानको कमीले थियो। अनुभवले उनलाई धेरै कुरा सिकायो।
निरन्तर सिकाइ र कडा मेहनतले २००७ मा उनलाई ट्रेकिङ गाइडको लाइसेन्स दिलायो। यो उनको जीवनको एक महत्वपूर्ण उपलब्धि थियो। आज उनी केवल एक गाइड मात्र होइनन्, पदमार्गका अध्येता र संरक्षक पनि हुन्। ‘एउटा राम्रै गाइड बन्नको लागि शारिरिक र मानसिक रुपमा सबल हुनुप¥यो,’ उनी आफ्नो अनुभव बाँड्दै भन्छन्, ‘नेतृत्व गर्न सक्ने क्षमता हुनु पर्दछ। ठाउँहरु घुमेको समाज बुझेको हुनु पर्छ।’
इन्सुहाङले सङ्गीतको मायालाई पनि जीवित राखे। एउटा म्युजिक एल्बम निकाले, जसले व्यवसायिक रूपमा त्यति सफलता नपाए पनि उनको लगानी सुरक्षित भयो। अहिले उनी अंग्रेजी, जर्मन, इटाली र फ्रेन्च भाषामा पर्यटन सम्बन्धी गीत तयार गर्दैछन्। २०१५ को विनाशकारी भूकम्पपछि उनले एक साहसिक र अभूतपूर्व कदम चाले – मेरा पिकमा लाइभ सङ्गीत कार्यक्रमको आयोजना गरेर विश्वलाई नेपाल सुरक्षित छ भन्ने सन्देश दिए। २०१९ मा उनले अझ एक कदम अघि बढेर त्रिशुली नदीमा ¥याफ्टिङ कन्सर्टको आयोजना गरे, जसमा धिरज राई, विजय लामा, मनिषा पोखरेल जस्ता प्रख्यात कलाकारहरूले सहभागिता जनाए।
-1740134766.jpeg)
तर आज उनको मनमा एउटा गहिरो चिन्ता छ। ‘जथाभावी सडक विस्तारले गर्दा हाम्रा पदमार्गहरु मासिँदै गइरहेका छन्। लेखाजोखा केही छैन जहाँ पनि सडक पु¥याउने भन्ने सोचले गर्दा नै पदमार्गहरु मासिँदै गएका हुन्।’ उनी यी ऐतिहासिक पदमार्गहरूको संरक्षणको लागि निरन्तर आवाज उठाइरहेका छन्। ‘सडक विस्तार नै रोक्नु पर्छ भन्ने त हैन तर पदमार्गहरुलाई पनि संरक्षण हुने गरि सडक विस्तार गर्दा राम्रो हुन्छ,’ उनी सुझाव दिन्छन्। ‘यसरी नै पदमार्ग मासिने गरि सडक विस्तार गर्दै जाने हो भने एक दिन नेपालको पदयात्रा पर्यटक एकादेशको कथा बन्न सक्छ’, उनी थप्छन्।
युवा पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने उनको ठूलो चाहना छ। ‘पर्यटन क्षेत्रमा सम्भावना राम्रो हुँदा हुँदै पनि हामीले प्र्याप्त प्रचार गर्न नसक्दा पनि हो कि नयाँ पुस्ता त्यती यो क्षेत्रमा लागेको पाइदैन,’ उनी चिन्ता व्यक्त गर्दै भन्छन्। ‘हामी भाषा सिकेर बाहिर अध्ययन गर्न जान्छौं त्यही भाषा जर्मन, फ्रेन्चलागयतको भाषा सिकेर नेपालमै डलर कमाउन सकिन्छ।’
आज गाइडको रूपमा इन्सुहाङको जीवन अर्थपूर्ण र सन्तुष्टिपूर्ण छ। ‘गाइडको जिन्दगी रमाइलो नै छ,’ उनी खुसीसाथ भन्छन्, ‘आफ्ना पूर्खाहरुले नदेखेको ठाउँ देख्न घुम्न पाइयौं। आफ्नै देशमा बसेर पनि विदेश घुमेको अनुभव गर्न पाइन्छ। दिनँहु जसो नाचगान गर्छाैं। धेरै नभए पनि आफ्ना बुवाबाजेले नदेखेको पैसा पनि पाइन्छ।’
-1740134764.jpeg)
यात्रा विभागका विभिन्न चुनौतीहरू पनि छन्। गाइडहरूको पारिश्रमिकमा एकरूपता छैन। टानले तोकेको न्यूनतम पारिश्रमिक पनि समय अनुसार कम छ। बजारमा कम्पनीहरू र गाइडहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ। तर इन्सुहाङ आशावादी छन्। उनी भन्छन्, ‘म सन्तुष्ट नै छु मलाई आज सम्म जे जे प्राप्त गरे जिवनमा सबै मलाई यहीँ क्षेत्र पर्यटनले नै दिएको हो।’
उनको जीवन कथाले सिकाउँछ – कहिलेकाहीँ हामी जुन बाटोमा हिँड्छौं, त्यो हाम्रो सपनाको बाटो नहोला। तर त्यो बाटोले हामीलाई त्यस्तो ठाउँमा पु¥याउँछ, जहाँ हाम्रो जीवन साँच्चै सार्थक बन्छ। सङ्गीतको धुन खोज्न हिँडेका इन्सुहाङले हिमालको धुनमा आफ्नो जीवनको सार्थकता भेट्टाए। उनै राईसँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलामा कुराकानी गरेको छ।
-1740134764.jpeg)