पोखरा। नयाँ बर्षको स्वागतका लागि आयोजना गर्न लागिएको ‘फेवा नव बर्ष महोत्सव’को तयारी अघि बढाइएको छ। होटल संघ पोखरा, नेपालले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर काम अघि बढाइएको महोत्सवका संयोजक एवम् होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको उनले प्रष्ट्याए। देशविदेशका पर्यटकलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवको छ।
ड्यामसाइडदेखि गैराको चौतारासम्मको तीन किलोमिटरभन्दा लामो क्षेत्रमा सडकमा महोत्सव आयोजना हुने छ। निःशुल्क प्रवेशको व्यवस्था हुनेछ। विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टल र खेलकूदका कार्यक्रम गरिनेछ।
महोत्सवमा आउने पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिटै गरिने संघले बताएको छ।
संघका प्रथम र द्वितीय उपाध्यक्ष क्रमशः दीपक श्रेष्ठ र गणेशराज पहारी महोत्सवको सहसंयोजक छन्। संघका अन्य पदाधिकारी र सदस्यलाई पनि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ।
कोभिड १९ बाट प्रभावित पर्यटनलाई लयमा फर्काउन समेत महोत्सव सहयोगी हुने अपेक्षा गरिएको छ। महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढवा दिन संघले दुई दशक अघि देखि ‘जाऔं है पोखरा’ अभियान समेत सञ्चालन गर्दै आएको छ।
यसैबिच संघले नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुखका रुपमा पोखरा आएका मणिराज लामिछानेलाई कार्यक्रममा स्वागत गरेको थियो।