काठमाडाैं। आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ।
रत्न–श्रेष्ठ पुरस्कार गुठी, बागलुङले पुनद्वारा लिखित ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ पुस्तकलाई सम्मान गर्दै ५० हजार रुपैयाँ राशिको यो पुरस्कार प्रदान गरेको हो।
बुधबार आयोजित विशेष समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगद, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरे।
डा. पुन विज्ञान, अनुसन्धान, रोजगारी सिर्जना र प्रविधि नवप्रवर्तनका क्षेत्रमा पुर्याएको योगदानका कारण चर्चित छन्। गुठीका अनुसार उनको दीर्घकालीन योगदानको सम्मानस्वरूप यो पुरस्कार प्रदान गरिएको हो
साथै १५ हजार पुरस्कार राशिकाे ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साल (सहधर्मिणी) लाई, २५ हजार राशिकाे ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार– २०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मा (निबन्धसंग्रह: सगरमाथा एक पहाडको नाम होइन) र १० हजार राशिकाे ‘गुरु गणेश स्मृति पुरस्कार’ मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदी (संस्कृत अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेवापत)लाई प्रदान गरिएकाे छ।
साहित्यकार तथा संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा २०३४ सालमा ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ स्थापना गरेका थिए। भाषा, साहित्य तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको यो गुठी देशकै पुराना पुरस्कार संस्थामध्ये एक हो। गुठीले हरेक दुई वर्षमा विभिन्न विधाका स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ।