नेपालको स्विजरल्यान्ड भनेर चिनिएको रमणीय उपत्यका हो, जिरी। यही उपत्यकाको शिरमा उभिएको छ, चेर्दुङ (३,७०० मिटर)। हिमाली सृङ्खला, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिने चेर्दुङ एउटा हिलस्टेसन हो। जिरेल भाषामा ‘चेर्’ भनेको खेल्ने र ‘दुङ’ भनेको थुम्को। डाँडाको थाप्लोमा खेल्न मिल्ने फराकिलो ठाउँ छ। त्यसैले यसलाई चेर्दुङ भनिएको।
दोलखाको जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकाको साँधमा पर्दछ, चेर्दुङ। चेर्दुङबाट हिमालका साथै डाँडापाखा र गाउँघरको दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट नुम्बुर, रामदुङ, छेकिगो, मेलुङत्से, लाक्पादोर्जे, टासी लाप्चा, गौरीशङ्कर लगायत दर्जनौं हिमाल देखिन्छन्। सबैभन्दा नजिक गौरीशङ्कर र नुम्बुर हिमाल देखिन्छन्।
हाइकिङविज्ञ राम देवी महर्जन
अर्को महत्वपूर्ण कुरा, डाँडामा चेर्दुङेश्वर महादेवको मन्दिर र गुरु रिम्पोचे ध्यानमा बसेको गुफा पनि छ। त्यसैले धार्मिक दृष्टिकोणबाट हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल बनेको छ, चेर्दुङ।
यहाँ जनै पूर्णिमाका दिनमा भव्य मेला लाग्छ। मेला भर्न दोलखाली मात्र होइन, बाहिर जिल्लाका तिर्थालु पनि आउँछन्।
डाँडामा पुग्दा पसिना चुहाउँदै उकालिएको थकाई भुलिन्छ। हिमालसँग आँखा झिम्काउदै बस्न पाउदा बेग्लै किसिमको ऊर्जा मिल्छ।
चेर्दुङेश्वर महादेव
चेर्दुङमा खाने र बस्ने सुबिधा छैन। कुनै होटल, लज र होमस्टे छैन। तल जिरी बजारका होटलमा बास बसेर बिहानै क्याङ्से पोखरीसम्म जिपमा चढेपछि पदयात्रा गर्नुको विकल्प छैन। त्यसैले आवश्यक खाना र पानी साथमै बोक्नु पर्दछ।
याे पनिः दोलखामा प्रकृतिप्रेमी समूह
याे पनिः हनुमन्तेश्वरमा ‘प्रकृतिप्रेमी समूह’ (भिडियाे)
यही सुन्दर हिलस्टेसनमा हामी ‘प्रकृतिप्रेमी समूह’का सदस्यहरू पनि पुगेका थियौं, १७ माघ, २०८१ को मध्यान्हमा। चेर्र्दुुङमा उभिएर हामीले स्वास्थको नारा घन्कायौं, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा।’
दोलखाको रमणीय हिलस्टेसन चेर्दुङमा प्रकृतिप्रेमी समूह
गायक शेरबहादुर महर्जन दाइले नारा घन्काउने वित्तिकै उहाँलाई साथ दिँदै सबै पदयात्री मित्रहरू नाच्न थालेँ। गौरीशंकर हिमालसँग आँखा झिम्काउँदै फोटा पनि खिचे।
हामी १९ जना पदयात्री, एक जना सहयोगी र पथप्रदर्शक गरी २१ जना चेर्दुङ पुगेका थियौ। क्याङ्से पोखरीबाट उकालो हिँडेर डाँडामा पुग्दा झलमल्ल हिमाल खुलेका थिए। त्यहाँ पुग्दा हामीले थकाई बिर्सियौं। तस्बिर खिच्यौं। भिडियो खिच्यौं। र एक टकले हिमाल हेरिरह्यौं।

हामी मध्यान्ह १२ बजे डाँडाको टाकुरामा पुगेका थियौं। हिमाललाई छोएर आएको चिसो हावाले हामीलाई स्वागत ग¥यो। हिमाल र चेर्दुङेश्वर महादेव दर्शनपछि हामीले खाना खायौं।
जिरीका अनुभवी पथप्रदर्शक लालबहादुर जिरेलको सहयोगले हाम्रो यात्रा झन सहज बन्यो। उनी जिरेल जातिबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति। उनले दुई पटक सगरमाथा आरोहण गरेका रहेछन्, सन् २०१०, मे २३ मा उत्तरी मोहडाबाट र सन् २०१९ मे २३ मा दक्षिणी मोहडाबाट।

लालबहादुर दाइले हामीलाई चेर्दुङको इतिबृत्ति सुनाए। हिमाल आरोहणको रोमाञ्चक कथा पनि सुन्यौं।
चेर्दुङ वर्षैभरि घुम्न सकिने पर्यटकीय गन्तब्य। बर्खामासमा हरियाली र हिउँफूल हुन्छ भने हिउँदमा हिमाल टलक्क टल्किन्छन्। त्यसैगरी चैतवैशाखमा गुराँस फूल्छ। दुःखको कुरा, हामी पुग्दा हिमालमा हिउँ कम थियो। ग्लोबल वार्मिङका कारण हिउँ पर्न ढिलाई भएको छ।
चेर्दुङ घुम्ने सपना पुरा भयो। हामी ललितपुरको सातदोबाटोस्थित हाम्रो संस्थाको कार्यालय निरोगधामबाट माघ १६ गते यात्रामा निस्केका थियौं। बाटोमा हामीले खरिढुङ्गा अवलोकन ग¥यौं। त्यहाँबाट अघि बढेर दोलखाको सदरमुकाम चरिकोट बजारको ‘होटल किस्मत’मा खाना खायौं। शान्तकुमार र प्रेमकुमारी जिरेल दम्पत्तिले मिठो खाना खुवाए।
चरिकोटस्थित होटल किस्मतका सञ्चालक शान्तकुमार जिरेल र प्रेमकुमारी जिरेलका साथमा हाइकिङविज्ञ रामदेवी महर्जन
खाना खाएर हामी मैनापोखरी हुँदै खावा डाँडामा पुग्यौ। त्यहाँबाट अलिकति अघि बढेपछि हनुमन्तेश्वर पदयात्रा ग¥यौं। नयाँ गन्तव्य घुम्न र भोलिपल्ट चेर्दुङको उकालो चढ्न सजिलो होस् भनेर हामी हनुमन्ते डाँडा (३,००० मिटर) चढेका हौं। डाँडाको खोंचमा प्राकृतिक शिवलिङ्ग र हुनमानको मूर्ति छ। डाँडाको थाप्लोबाट मनास्लु, लाङटाङ, गौरीशंकरदेखि नुम्बुर हिमालसम्म छर्लङ्ग देखिन्छन।
-1740044509.jpg)
त्यहाँबाट फर्केर हामी यात्राको पहिलो रात जिरी बजारको ‘होटल हेमन्त’मा बस्यौं। होटल सञ्चालक बसञ्त प्रधान फरासिला रहेछन्। उनको परिवारले न्यानो आतिथ्यता प्रदान ग¥यो।
भोलिपल्ट माघ १७ गते बिहानै हामी ४ वटा बोलेरो जिपमा उकालियौं। कच्ची सडक क्याङ्से पोखरी (३,००० मिटर) सम्म पुग्न जिपमा १ घण्टा लाग्यो। त्यहाँबाट करिब ४ घण्टामा पदयात्रामा हामी चेर्दुङ पुग्यौं। चेर्दुङमा डेढ घण्टा विताएर ओरालो झ¥यौं।
जिरीको होटल हेमन्तका सञ्चालक बसञ्त प्रधान, हाइकिङविज्ञ रामदेवी महर्जन र सगरमाथा आरोही लालबहादुर जिरेल
फर्कंदा भने चेर्दुङ चिज कारखानाको बाटो भएर जिरी बजारसम्मै हिँड्यौं। होटल हेमन्तमा पुग्दा झमक्क साँझ परिसकेको थियो।
यात्राको तेस्रो दिन बिहान हामी जिरी बजार घुम्यौं। र, त्यहाँबाट गाडी चढेर दोलखा भीमसेन मन्दिरमा पुग्यौं। भीमेश्वरको दर्शनपछि चरिकोटको किस्मत होटलमा खाना खाएर काठमाडौं फर्कियौं।
हाम्रो यात्रा अविश्मरणीय बन्यो। हाम्रो यात्रामा जंकफुड, फास्टफुड र मदिरा निषेध छ। हामी स्वास्थ्यवद्र्धक खाना मात्र खान्छौं। खुवाउँछौं। स्वास्थ्यका लागि उचित आहार, विहार र विचारको मूल मन्त्र बोकेर हामी व्यवाहारिक अभ्यास गर्दै आइरहेका छौं।
गाैरीशङ्कर हिमाल
हरेक यात्राले हामीलाई केही न केही सिकाउँछ। नयाँ भूगोल, संस्कृति र जीवनशैलीलाई नजिकबाट नियाल्न पाइन्छ। चेर्दुङबाट तन र मन चंगा बनाएर फर्कियौ हामी।
हालका लागि चेर्दुङमा पदयात्राको विकल्प छैन। क्याङ्से पोखरीसम्म मात्र सडक ट्रयाक खोलिएको छ। चेर्दुङको बेस क्याम्प पेमादिङसम्म सडक लैजाने योजना रहेछ। त्यहाँसम्म छिटोभन्दा छिटो सडक पु¥याएर होटल बनाउन सके चेर्दुङ पर्यटकीय गन्तव्यका रुपमा चम्किन सक्छ।

एउटा खुसीको कुरा, चेर्दुङमा पर्यटन विकास गर्न जिरीका युवा लिलाराम खड्काको नेतृत्वमा ‘जाऔं है चेर्दुङ’ अभियान सुरु भइसकेको छ। यतिबेला त चेर्दुङका पाखामा गुराँस फूल्न थालिसक्यो होला, अब तपाईं पनि गुराँसको उज्यालोमा रमाउँदै चेर्दुङको उकालो चढ्ने होइन त ?
चेर्दुङ कसरी पुग्ने ?
पहिलो दिन
काठमाडौँ–जिरी १८८ किलोमिटर, गाडीमा ६ घण्टा। काठमाडौँको जडीबुटीस्थित अरनिको बसपार्कबाट छुट्छन् माइक्राेबस र मिनी बसहरू। बिहानको खाना चरिकोटमा, बास जिरीको होटलमा।
दोस्रो दिन
जिरीबाट क्याङ्से पोखरीसम्म ११ किलोमिटर, जिपमा १ घण्टा। क्याङ्से पोखरीबाट ४ घण्टा पदयात्रामा चेर्दुङ, ठाडो उकालो। फर्कंदा गएकै बाटो क्याङेसे पोखरीसम्म पदयात्रा।
पदयात्रा दुरी: ४+४: ८ किलोमिटर।
अथवा, चेर्दुङबाट फरक बाटोबाट चिज कारखाना हुँदै जिरीबजारसम्म ६ किलोमिटर ओरालो पदयात्रा गर्ने।
पदयात्रा दुरी: ४+६ः १० किलोमिटर।
बास जिरीको होटलमा।
तेस्रो दिन
बिहान जिरी बजार, जिरेश्वर महादेव लगायत सम्पदा घुमेर फर्कने। फर्कंदा दोलखा भीमसेन दर्शन गरेर चरिकोटमा खाना खाने। खानापछि गन्तव्यमा फर्कने।
(योग तथा उचित आहार, बिहार र विचारकी प्रशिक्षक महर्जनको ‘हाइकिङ काठमाडौं’ नामक पुस्तक प्रकाशित छ। उनी ‘प्रकृति प्रेमी समूह’की सचिव हुन्।)
क्याङ्से पाेखरी










याे पनिः दोलखामा प्रकृतिप्रेमी समूह
याे पनिः हनुमन्तेश्वरमा ‘प्रकृतिप्रेमी समूह’ (भिडियाे)