काठमाडौं। फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको वडा नं. १५ का अध्यक्ष इश्वरमान डंगोलले जानकारी दिएका छन्।
वडा नं. १५ ले आफ्नो भौगोलिक अवस्थिति, धार्मिक-सांस्कृतिक विशेषता, मठ-मन्दिर, चैत्य, गुम्बा तथा सामाजिक रीतिथिति प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो।
वडाध्यक्ष डंगोलले भने, ‘सबैले मेरो महोत्सव हो भन्ने अनुभूति गर्ने गरी सद्भावयुक्त पहिचानको प्रवर्धन गर्न यो महोत्सव आयोजना गरिएको हो। यसले वडाबासी, समुदाय तथा निजी र सामाजिक क्षेत्रको दिगो विकासमा टेवा पुर्याउनेछ।’
६० स्टलसहित विविध कार्यक्रम
महोत्सवमा करिब ६० वटा स्टल रहने छन्, जसमा परम्परागत बाजा, जन्मदेखि मृत्यु पर्यन्तका संस्कार झल्काउने चित्र, बुद्धको जीवनीसम्बन्धी चित्र, हुलाक टिकट, पुराना मुद्राहरू तथा स्थानीय मौलिक उत्पादनहरू प्रदर्शनीमा राखिनेछ।
यसैगरी मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान तथा रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ) जस्ता आकर्षक गतिविधिहरू समावेश गरिने छन्। ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिताहरू हुनेछन्।
स्थानीयको उत्साहजनक सहभागिता
महोत्सव सफल बनाउन वडाले वडास्तरीय छलफल गरिसकेको छ भने प्रचारप्रसारका लागि साइकल र्यालीजस्ता कार्यक्रम सम्पन्न भएका छन्। हाल स्थानीयहरू प्रदर्शनी सामग्री व्यवस्थापन र सांस्कृतिक कार्यक्रमको तयारीमा व्यस्त छन्।
वडाध्यक्ष डंगोलले सबैलाई महोत्सवमा सहभागी भई आफ्नो पहिचानको प्रवर्धन गर्न आग्रह गरेका छन्।