रंगेली। ‘विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं भन्ने सोच आयो,’ मलेसियाबाट फर्किएका शिव राई भन्छन्, ‘अहिले त्यो सोच सफल व्यवसायमा परिणत भएको छ।’
मोरङको रंगेली नगरपालिका-३ रञ्जनीमा साङ्पाङ कृषि फार्म सञ्चालन गरिरहेका राईले नौ वर्षको विदेश बसाइपछि स्वदेशमा सफल व्यवसायी बन्ने यात्रा थालेका हुन्। विदेशमै हुँदा किनेको दुई बिघा जग्गामा उनले चार वर्षअघि १५ वटा बङ्गुरबाट सुरु गरेको व्यवसाय अहिले ७० वटा बङ्गुरको फार्ममा विकसित भएको छ।
‘सुरुमा साना पाइलाबाट थालेको थिएँ,‘राईले आफ्नो यात्रा सम्झँदै भने, ‘अहिले फार्ममा हिमसार, ब्युरो र लेन्देक्स जातका उन्नत नश्लका बङ्गुरहरू छन्। विउका लागि दुईवटा बदेल पनि पालेका छौं।’

उनको फार्ममा एउटा माउ बङ्गुरले १०० दिनमा १२ देखि १८ वटासम्म पाठापाठी दिने गरेको छ। पाठापाठीलाई ४० दिनसम्म आमाको दूध खुवाएपछि भुस्सा, पिना र मकैको पिठोले हुर्काइन्छ। चार–पाँच महिनामा तयार हुने बङ्गुर प्रतिगोटा ३० देखि ४० हजार रुपैयाँमा बिक्री हुन्छन्।
६० लाख रुपैयाँको प्रारम्भिक लगानीमा स्थापना भएको यो फार्मले अहिले धरान, झापा, काठमाडौं र सिराहका व्यापारीहरूलाई आकर्षित गरिरहेको छ। ‘सुरुमा बजार खोज्न धौ–धौ थियो,’ राईले भने, ‘अहिले व्यापारीहरू आफैं फार्मसम्म आउँछन्।’

राईको सफलताले स्थानीय युवाहरूलाई पनि प्रेरणा दिएको छ। विदेश जाने तयारीमा रहेका अनुप मुर्मुले अब साङ्पाङ फार्ममै काम गर्ने निर्णय गरेका छन्। ‘यहाँ काम गर्दै सिक्दै गएपछि मैले पनि यस्तै व्यवसाय गर्न सक्छु भन्ने विश्वास जाग्यो,’ मुर्मुले भने।
अनुप मुर्मु
तर स्थानीय उद्यमीहरूले सरकारी सहयोगको अभाव खट्किएको बताएका छन्। दुई वर्षदेखि बङ्गुर पालन गरिरहेकी धना कुमारी राईले भनिन्, ‘मेहनती किसानलाई भन्दा राजनीतिक पहुँच भएकालाई मात्र सरकारी सहयोग पुग्छ।’
यद्यपि, राईको सफलताले देखाएको छ स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ। ‘विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्न सके सफलता पाइँदो रहेछ,’ उनी भन्छन्।
