पोखरा। नेपालकाे पर्यटकीय राजधानी पोखराले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शनिबार भ्रमण वर्षकाे घाेषणा गरिएकाे हाे।
गण्डकी प्रदेश सरकारको पहलमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समर्थनमा यो अभियान अघि बढाइएको हो। पोखराको अनुपम प्राकृतिक सौन्दर्य, रोमाञ्चक साहसिक गतिविधि र सांस्कृतिक अनुभवलाई प्रवर्द्धन गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा थप चिनाउने उद्देश्यले भ्रमण वर्ष घोषणा गरिएको पर्यटन क्षेत्रका अधिकारीहरूले जनाएका छन्।

पोखरा नेपालको पर्यटन राजधानीका रूपमा परिचित छ। यहाँ रहेका फेवा ताल, अन्नपूर्ण पदमार्ग, गुह्येश्वरी गुफा, सराङकोट, डेविस फल्स लगायतका आकर्षणहरूले पर्यटकलाई लोभ्याउने अपेक्षा गरिएको छ। साहसिक गतिविधिहरू, जस्तै प्याराग्लाइडिङ, बन्जी जम्प, जिप लाइन र कयाकिङ पनि पर्यटकका लागि प्रमुख आकर्षण हुनेछन्।
पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन सरकारी तथा निजी क्षेत्रका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्रेकिङ तथा साहसिक खेल क्षेत्रका विज्ञहरूले विभिन्न योजना अघि बढाइरहेका छन्। स्थानीय संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

Photo: Kiran Bhujel via Nepal Tourism Board - Gandaki Province