काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी)ले दक्षिण भारतको सलेम टूर अपरेटर्स एशोसिएसन (एसटीओए)का १९ सदस्यीय प्रतिनिधिमण्डलसँग विशेष बैठक सम्पन्न गरेको छ।
नेपाल भ्रमण प्रवर्द्धनलाई लक्षित उक्त बैठकमा भारतीय पर्यटक बजारमा नेपालप्रति बढ्दो रुचि र पर्यटन सम्भावनाका विषयमा छलफल भएको थियो।
एनटीबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपालका पर्यटकीय सम्भावनाहरूको चर्चा गरे। उनले नेपाल र भारतबीचको सांस्कृतिक एवम् ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै भारतीय पर्यटकहरूका लागि नेपाल एक महत्वपूर्ण गन्तव्य रहँदै आएको बताए।
बैठकमा पर्यटन बजार प्रवर्द्धन विभागकी वरिष्ठ निर्देशक नन्दिनी थापाले एसटीओएको सहभागिताप्रति आभार व्यक्त गर्दै नेपालका विविध पर्यटकीय आकर्षणबारे जानकारी दिइन्। जनसम्पर्क तथा प्रचारप्रसार विभागका कार्यवाहक निर्देशक सुनील शर्माले नेपालको पर्यटन परिदृश्यबारे प्रस्तुति दिँदै भारतीय पर्यटकहरूको लागि नेपालका विशिष्ट गन्तव्यहरू, साहसिक गतिविधिहरू र आध्यात्मिक अनुभवबारे जानकारी गराए।
कार्यक्रममा सीईओ जोशीले भने, ‘नेपाल र भारतबीच गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध छ र भारतीय पर्यटक नेपालका लागि प्रमुख बजारमध्ये एक हो। हामी एसटीओएका प्रतिष्ठित सदस्यहरूसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। नेपालको समृद्ध सम्पदा, अद्वितीय प्राकृतिक सौन्दर्य र अतिथ्य सत्कारका कारण नेपाल भारतीय पर्यटकहरूको प्रमुख गन्तव्य बन्ने विश्वास लिएका छौँ। नेपाल पर्यटन बोर्ड भारतीय टुर अपरेटरहरूसँगको सहकार्यलाई अझ विस्तार गर्दै दिगो तथा अनुभवमूलक पर्यटन प्रवर्द्धनमा प्रतिबद्ध रहनेछ।’
प्रतिनिधिमण्डलले नेपालको पर्यटन अवसरहरूमा गहिरो चासो व्यक्त गर्दै भारतीय पर्यटकहरूका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए। बैठक पर्यटन सम्बन्धलाई अझ मजबुत बनाउने तथा सहकार्यका नयाँ पहलहरूको खोजीबारे अन्तरक्रियासहित सम्पन्न भएको थियो।