काठमाडौँ। भारतकाे उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा ऐतिहासिक उपस्थिति भएकाे छ।
३३ दिनको अवधिमा ५० करोडभन्दा बढी भक्तजनले त्रिवेणी संगममा स्नान गरेका छन्। इतिहासकै सबैभन्दा ठूलो जनसङ्ख्या उपस्थित भएको यो महाकुम्भ अझै ११ दिनसम्म चल्नेछ।
भारतीय समाचारमाध्यमहरूका अनुसार यो संख्या अमेरिका र चीनको कूल जनसङ्ख्याभन्दा कम भएपनि विश्वकै प्रमुख धार्मिक तथा सांस्कृतिक भेलामध्ये एक महाकुम्भको महत्त्वलाई अझ बलियो बनाएको छ। तुलनात्मक रूपमा ब्राजिलको रियो कार्निवल र जर्मनीको अक्टोबर फेस्टिभलमा देखिने भीड महाकुम्भको अगाडि सानो देखिएको छ। रियो कार्निवलमा प्रतिदिन करिब २० लाख मानिस सहभागी हुने गरेका छन् भने, १६ दिनसम्म चल्ने अक्टोबर फेस्टमा ७० लाखको हाराहारीमा भीड हुने गरेको छ।
भीड व्यवस्थापनका लागि कडा तयारी
शनिबार र आइतबार थप ठूलो संख्यामा मानिस उपस्थित हुने पूर्वानुमानसहित उत्तर प्रदेश प्रशासन उच्च सतर्कतामा रहेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले प्रयागराज महाकुम्भ व्यवस्थापनबारे समीक्षा गर्दै अधिकारीहरूलाई सडकमै खटिन निर्देशन दिएका छन्। ‘भक्तजनलाई कुनै समस्या नहोस्, यातायात सहज बनाउन विशेष व्यवस्थापन गरिएको छ। यदि कतै जाम भयो भने त्यस क्षेत्रका अधिकारीहरू नै जिम्मेवार हुनेछन्,’ उनले भने।
राजनीतिक नेताहरूको समेत सहभागिता
महाकुम्भ मेलामा भारतका प्रमुख राजनीतिक व्यक्तिहरूको समेत उपस्थिति रहने भएकाे छ। कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी फेब्रुअरी १६ मा स्नान गर्ने कार्यक्रम तय भएको स्रोतहरूले जनाएका छन्। कांग्रेसको तयारी अन्तिम चरणमा पुगेको र भक्तजनसँग उनीहरूले समेत सहभागिता जनाउने जनाइएको छ।