काठमाडौं। प्रेम दिवस अर्थात् फेब्रुअरी १४को अवसर पारेर ‘वर्तमान कविता समूह’ले ११ जना कविहरूको प्रेमकविता सङ्ग्रह ‘प्रेमको आदिम गीत’ विमोचन गरेको छ।
पुतलीसडकस्थित ग्रिनलिफ फूडमा आयाेजित कार्यक्रममार्फत् कविता सङ्ग्रहभित्रका ११ जना कविहरूले संयुक्त रुपमा कृति विमोचन गरेका हुन्। पुस्तकमा नेपाली भाषाका प्रेम कविताहरूलाई अङ्ग्रेजीमा पनि अनुवाद गरिएको छ।

कार्यक्रमको सुरुआत धीरकुमार श्रेष्ठले स्वागत मन्तव्यसहित गरेका थिए। त्यसपछि विमोचन कार्यक्रमका क्रममा कविहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए।
टङ्क उप्रेती, भीष्म उप्रेती, रमी प्रिया, रामगोपाल आशुतोष, किशोर पहाडी, चन्द्रबहादुर लामा, स्नेह सायमी, दिव्य गिरी, विधान आचार्य, सुमन थापा सङ्गम, रजनी मिला, सन्जय सुमन, लक्ष्मी माली, पुरुषोत्तम घिमिरे, विनाका नेम्कुल, दिलकुमारी डङ्गोल, नानीबाबा अधिकारी, गोविन्द नेपाल, ईश्वर थोकर, श्रीओम श्रेष्ठ रोदन, वसन्त नकर्मी, एलिसा ढुङ्गानालगायतका स्रष्टाहरूले कविता वाचन गरे।

प्रेमसम्बन्धी कार्यक्रम भएपनि केही कविहरूले अन्य विषयवस्तुका कविता वाचन गरेका थिए।
सवा दुई घण्टा लामो कार्यक्रममा राधिका अधिकारीले उद्घोषण गरेकी थिइन्। भने, विश्व सिग्देलले कविता वाचन गर्दै कार्यक्रमको समापन गरेका थिए।









