रसुवाको कालिका गाउँपालिकाकी चौध वर्षीया मेन्दो तामाङ आफ्नो दैनिक दिनचर्या थियो नाक दुहुने, दूध जम्मा गर्ने, र ४ घण्टाको लामो पैदल यात्रापछि जङ्गलको बीचमा रहेको सङ्कलन केन्द्रमा बेच्न लैजाने। उनको दिनचर्या सधैँ यस्तै थियो। बिहान सबेरै उठ्ने, घरको काम सक्ने, र फेरि गोठतिर लाग्ने। पन्ध्र वर्ष नपुग्दै विवाह गर्नुपर्ने भविष्य उनको पर्खाइमा थियो, जसरी गाउँका अधिकांश किशोरीहरूको थियो।
‘मेरो बाल्यकाल चै लेकमै गाउँमा बितेको हो,’ मेन्दो आफ्नो विगतलाई सम्झँदै भन्छिन्। उनको आवाजमा त्यो समयको मिठो स्मृति झल्किन्छ। ‘गोठमै हुर्केको मान्छे, उकाली ओराली गरिरहने मान्छे। त्यसमै रमाउने मान्छे। हिमालसँग खेल्दै, प्रकृतिसँग रमाउँदै हुर्केकी थिएँ।’
तर २००८ मा उनको जीवनमा एक अप्रत्याशित मोड आयो। एक विदेशी पर्यटकसँगको भेटले उनको भविष्यको ढोका खोलिदियो। विवाहको लागि तयार पारिँदै गरेकी मेन्दोलाई काठमाण्डौमा पढ्ने अवसर मिल्यो। यो क्षण उनको जीवनको महत्वपूर्ण निर्णयको क्षण थियो – या त गाउँमै बसेर परम्परागत जीवन जिउने, या त नयाँ संसारको यात्रा थाल्ने।
‘काठमाण्डौँ आउँदा मलाई सबै कुरा नौलो थियो,’ उनी त्यो समयको स्मृति ताजा पार्दै भन्छिन्। ‘भाषा बुझ्दिनथेँ, शहरी जीवन बुझ्दिनथेँ। मलाई लाग्थ्यो – म यहाँ टिक्न सक्दिनँ होला। तर भित्रभित्रै एउटा आवाज थियो – केही गरेर देखाउनैपर्छ।’
काठमाडौंमा सुरुका दिनहरू सजिला थिएनन्। नयाँ वातावरण, नयाँ मान्छेहरू, नयाँ चुनौतीहरू। तर मेन्दोभित्रको जिज्ञासा र सिक्ने चाहनाले उनलाई अघि बढ्न प्रेरित ग¥यो। विद्यालयमा उनको लगनशीलता देखेर शिक्षकहरू छक्क पर्थे। नेपाली माध्यमबाट पढेकी विद्यार्थीले अङ्ग्रेजी माध्यममा डेन्टल हाइजिन पढ्ने साहस गरिन्।

२०१८ को दशैंमा उनको जीवनले फेरि एक नयाँ मोड लियो। दाजुसँग लाङटाङ ट्रेक जाने अवसर मिल्यो। ‘सुरुमा त डर लाग्यो,’ उनी हाँस्दै सम्झिन्छिन्। ‘सोचेँ – काठमाण्डौ बसेर अब उकाली ओराली गर्न सक्दिन होला। तर पहिलो दिन नै मैले बुझेँ – मेरो रगतमा अझै हिमालको शक्ति छ। गाउँमा हुर्किएको बानी, त्यो उकाली–ओरालीको अनुभव – सबै जीवित रहेछ।’
त्यो यात्राले उनको भित्र लुकेर बसेको साहसिक यात्रीलाई जगायो। पर्यटन क्षेत्रप्रति उनको रुचि बढ्यो। २०२२ को अन्त्यमा उनले ट्रेकिङ गाइडको लाइसेन्स लिइन्। ‘यो मेरो लागि नयाँ चुनौती थियो,’ उनी भन्छिन्। ‘तर मलाई थाहा थियो – म यसमा सफल हुन सक्छु। मेरो जीवनको हरेक कदममा मैले सिकेको एउटा कुरा छ – असम्भव भन्ने कुरा छैन, यदि तपाईंसँग दृढ इच्छाशक्ति छ भने।’
२०२३ को सेप्टेम्बरमा उनको सामु एक ठूलो चुनौती आयो – २७ दिने यात्रा, आठ जना ६५+ उमेरका विदेशी पर्यटकहरूसँग। लार्के पास, थोरङ पास र पुनहिल – यो कठिन यात्रामा उनले आफ्नो नेतृत्व क्षमता र धैर्यता प्रमाणित गरिन्।
-1739529583.jpeg)
‘त्यो यात्रा मेरो जीवनको सबैभन्दा चुनौतीपूर्ण र सिकाइपूर्ण अनुभव थियो,’ उनी गम्भीर हुँदै भन्छिन्। ‘एक यात्रीको चश्मा बिग्रियो, हिउँले आँखा खायो, हेलिकप्टरबाट उद्धार गर्नुप¥यो। कोही रिसाउँथे, कोही थाक्थे। तर मैले धैर्य गुमाइनँ।’ उनी थप्छिन्, ‘यात्रीहरूको सामान आफैं बोकेँ, उनीहरूको हरेक समस्यामा साथ दिएँ।’
यात्राको क्रममा उनले एउटा महत्वपूर्ण पाठ सिकिन् – एक सफल गाइड हुन केवल बाटो चिन्नु मात्र पर्याप्त हुँदैन। “यात्रीहरूको मनोविज्ञान बुझ्न जरुरी छ,“ उनी बताउँछिन्। ‘कसैलाई प्रोत्साहन चाहिन्छ, कसैलाई सान्त्वना। कसैलाई एक्लै हिँड्न दिनुपर्छ, कसैलाई साथ चाहिन्छ। यी सबै कुरा बुझेर अघि बढ्नुपर्छ।’
समाजमा महिला गाइडप्रति हेर्ने दृष्टिकोण बारे उनको अनुभव रोचक छ। ‘हाम्रो समाजमा छोरी मान्छेहरूले घरको घरायसी काम गर्ने भन्ने चलन छ,’ उनी बताउँछिन्। शतर म सानैदेखि नेतृत्व गर्ने स्वभावकी थिएँ। र आश्चर्यको कुरा, मैले छोरी मान्छे भएकै कारण कहिल्यै नकारात्मक अनुभव गर्नु परेन। बरु धेरै ठाउँमा विशेष सम्मान पाएँ।’
उनी एउटा घटना सम्झिँदै भन्छिन्, “हामीलाई होटलमा कोठा छैन भनिएको थियो। तर जब होटल मालिकहरुले थाहा पाए – म एक महिला गाइड हुँ भनेर, उनले मलाई विशेष व्यवस्था गरिदिए।’ मेन्दोको विचारमा एक सफल गाइडमा तीन महत्वपूर्ण गुण हुनुपर्छ। ‘पहिलो – राम्रो संवाद गर्न सक्ने क्षमता,’ उनी जोड दिँदै भन्छिन्। ‘दोस्रो – नेतृत्व गर्न सक्ने क्षमता। र तेस्रो – उत्तरदायित्वबोध। यात्रीहरू हाम्रो भरोसामा आफ्नो जीवन सुम्पन्छन्। उनीहरूको सुरक्षा र सन्तुष्टि हाम्रो प्राथमिक दायित्व हो।’

आज मेन्दो एक बहुआयामिक व्यक्तित्व बनेकी छिन्। उनी ‘नेपअस एसोसिएसन’ संस्थाकी कन्ट्री प्रेसिडेन्ट छिन्, जसले विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्छ। ठमेलमा उनको आफ्नै डेन्टल क्लिनिक छ, जहाँ विपन्न वर्गका बिरामीहरूलाई निःशुल्क उपचार प्रदान गरिन्छ। उनि मनोविज्ञानमा स्नातकोत्तर अध्ययनरत छिन्। तर हिमालप्रतिको प्रेम र जोश उस्तै छ।
‘ट्रेकिङ मेरो लागि केवल पेशा होइन, यो थेरापी हो,’ उनी भावुक हुँदै भन्छिन्। ‘जब म हिमालमा हुन्छु, मलाई लाग्छ – म घर फर्केकी छु। त्यो उकाली–ओरालीमा मेरो बाल्यकाल छ, मेरो शक्ति छ। हिमालले मलाई सिकाएको छ – जीवनमा उकाली–ओराली त आइरहन्छ, तर हिम्मत हार्नु हुँदैन।’
-1739529654.jpeg)
विदेशी यात्रुहरूले नेपाली गाइडहरूको मुक्तकण्ठले प्रशंसा गर्ने गरेको उनी बताउँछिन्। ‘उनीहरू भन्छन् – नेपाली गाइडहरू अरू देशका गाइडहरूभन्दा धेरै मिलनसार र सहयोगी हुन्छन्।’ यो प्रशंसा उनलाई अझै राम्रो गर्न प्रेरित गर्छ।आगामी दिनमा उनी अन्य महिलाहरूलाई पनि यस क्षेत्रमा आउन प्रोत्साहित गर्दैछिन्। ‘पूर्णकालीन गाइड नै बन्नुपर्छ भन्ने छैन,’ उनी सल्लाह दिन्छिन्। ‘यसलाई साइड बिजनेसको रूपमा पनि अपनाउन सकिन्छ। वर्षमा तीन–चार पटक ट्रेक गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ।’गाउँकी एउटी साधारण किशोरीबाट सफल व्यवसायी, समाजसेवी र नेतृत्वकर्ता बन्नुसम्मको मेन्दोको यात्रा नेपाली महिलाहरूका लागि प्रेरणास्रोत बनेको छ।
-1739529657.jpeg)
-1739529569.jpeg)
-1739529578.jpeg)