काठमाडौं। नेपालको प्रमुख पर्यटकीयस्थल रारामा रिसोर्ट बन्ने भएको छ।
एक्सपर्ट ग्रुप (अस्ट्रेलिया) र रारा होल्डिङ्स (नेपाल)को संयुक्त लगानीमा मुगुको छाँयानाथ रारा नगरपालिका– ९ मुर्माटपमा ‘रारा रिसोर्ट’ बन्ने भएको हो। दुई अर्ब लगानीमा बन्ने रिसोर्टको बुधबार काठमाडौंको लाजिम्पाटमा आयोजित समारोहमार्फत् वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले शिलान्यास गरे।

शिलान्यास समारोहमा वनमन्त्री ठकुरीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, कर्णाली प्रदेशका सांसदहरु, पर्यटनसम्बद्ध निकायमा प्रतिनिधिहरु, अस्ट्रेलियन राजदूत तथा पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो।
उपस्थित अतिथिहरुले प्रकृतिको अनुपम उपहार रारामा रिसोर्ट निर्माण हुने भएकोमा खुसी व्यक्त गरे। वनमन्त्री ठकुरीले यसलाई राराको पर्यटनको कोशेढुङ्गा भएको बताए। खुसी व्यक्त गर्दै मन्त्री ठकुरीले भने, ‘राराको विकासको ढोका खुल्यो।’

उनले विकट ठाउँमा निजी क्षेत्रमा ठुलो लगानीमा व्यवसाय सञ्चालनमा हुँदा त्यसतर्फ राज्यले ध्यान दिने बताए। त्यस क्षेत्रमा भएको खानेपानी, सडक, विजुली तथा इन्टरनेटलगायत पूर्वाधारको विकासमा राज्यले विशेष ध्यान उनको भनाइ छ। उनले रारामा रहेको छायानाथ मन्दिरको प्रचारप्रसारमा पनि जोड दिनुपर्ने बताए।
त्यस्तै पर्यटनराज्यमन्त्री चौधरीले रारामा यो रिसोर्ट निर्माणपछि काठमाडौंबाट कर्णाली र सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताए। उनले आफू पनि व्यवसायी भएको र व्यवसायीका समस्या र बुझ्ने बताउँदै रिसोर्ट निमार्णका लागि सहयोग गर्ने उल्लेख गरे।

त्यस्तै जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाही र विनिता कठायतले रिसोर्ट भन्ने कुराले खुसी लागेको बताउँदै स्थानीयस्तरदेखि राष्ट्रियस्तरबाट सहयोगको पहल गर्ने बताए। राराजस्तो विकट ठाउँमा निजी क्षेत्रबाट ठुलो जोखिमसहित लगानी गर्नेलाई राज्यले राजस्व छुट दिनुपर्ने कुरामा शाहीले जोड दिएका थिए।

गत वैशाखमा भएको लगानी सम्मेलनबाट यो रिसोर्टको निर्माणको सम्झौता भएको थियो। ८० रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्ट मस्टो संस्कृति अनुरुप निर्माण हुने कार्यकारी अधिकृत (सिइओ) सञ्जीव शर्माले बताए। रिसोर्ट निर्माणमा जुम्ला–मुगुका कला संस्कृतिलाई महत्व दिइने उनको भनाइ छ।
रिसोर्ट एक सय जनाको क्षमताको हुनेछ। तर, पहिलो चरणमा ४० जना क्षमताको काम सम्पन्न गरिनेछ। माघ २१ गते रिसोर्ट निर्माणस्थलमा विधिवत् रुपमा भूमि पूजा गरिएको थियो।
रिसोर्टकाे निर्माण दुई वर्षमा सकिने सिईओ शर्माले बताए।

रिसोर्ट निर्माणपछि रारामा पर्यटकको संख्या वृद्धि हुने र समग्र कर्णालीको विकासमा टेवा पुग्ने रारा होल्डिङ्सका अध्यक्ष अभिषेक विक्रम शाहले बताए। ‘यो आम्दानीका लागि मात्रै गरिएको लगानी होइन, कर्णालीको विकास र पर्यटनका लागि गरिएको हो’, अध्यक्ष शाहले भने, ‘योजना सम्पन्न भएपछि रारामा पाँचदेखि दश लाखसम्म पर्यटक आउनेछन्।’
त्यस्तै एक्सपर्ट ग्रुपका अध्यक्ष बद्री अर्यालले सो क्षेत्र विकासको दृष्टिकोणले विकट र जोखिमपूर्ण भएपनि पर्यटनको हिसाबले धेरै सम्भावना रहेको बताए। उनले रारामा रिसोर्ट निर्माण गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै भने, ‘रिसोर्ट निर्माणको काम सकेर, अब तपाईंहरु सबैलाई रारामा स्वागत् गर्नेछु।’

पूर्वाधार निर्माणमा राज्यलाई दबाब
रारा मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठुलो (१०.८ वर्ग किलोमिटर) र प्रशिद्ध ताल हो। यो समुन्द्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित छ। प्रकृतिको उपहारका रुपमा लिइने यो ताललाई रारा राष्ट्रिय निकुञ्जको हरियाली, वन्यजन्तु तथा चराचुरुङ्गीले शोभा पुर्याएका छन्।
प्रकृति दृष्टिकोणले धनी भएपनि भौगोलिक हिसाबले विकट मानिन्छ। हवाई र स्थल दुवै मार्गमार्फत् रारा पुग्न सकिन्छ। हवाई मार्गबाट जाँदा मुगुको ताल्चा विमानस्थल पुगिन्छ। र, त्यहाँबाट अरु सवारी साधन वा पैदल हिँडेर पुग्न सकिन्छ। सडक मार्गबाट जाँदा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै जुम्ला र त्यहाँबाट मुगु पुग्न सकिन्छ। तर, सो क्षेत्रका विमानस्थलहरुको स्तरोन्नति र उचित व्यवस्थापन नहुँदा समस्या सिर्जन हुने गर्छन्। भने, सडक मार्गको दूरावस्था अर्काे ठुलो समस्या हो। कर्णाली राजमार्गलाई त धेरै दुर्घटना हुने भएकोले ‘मृत्यु मार्ग’समेत भन्ने गरिन्छ।
तर, अब निजी क्षेत्रबाट ठुलो लगानीमा रारामा व्यवसायहरु सञ्चालनको तयारी हुँदै गर्दा राज्यलाई पूर्वाधार निर्माणमा दबाब पुगेको छ। रारा क्षेत्रका लागि यातायात क्षेत्रमा सुधार प्रमुख आवश्यकता हो। त्यसबाहेक खानेपानी, बिजुली र इन्टरनेट हो।

रिसोर्ट शिलान्यास समारोहको सम्बोधनका क्रममा वनमन्त्री ठकुरीले कर्णालीको हवाई व्यवस्थापन र विमानस्थल स्तरोन्नतिमा जोड दिने बताए।
त्यस्तै सांसद शाहीले पनि राराको विकासका लागि राज्य पूर्वाधार निर्माणमा जोड दिनुपर्नेमा जोड दिए।

पर्यटन राज्यमन्त्री चौधरीको भनाइ पनि यही छ, ‘अब राज्य कर्णालीको पूर्वाधार विकासमा गम्भीर हुनु पर्ने अवस्था आयो। यदि कर्णाली र सुदूरपश्चिम क्षेत्रमा पूर्वाधार विकास भयो भने भारत र चीनका पर्यटक नेपाल आउने छन्। यी दुई देशका पर्यटक मात्रै नेपाल आए अहिलेलाई काफी हुन्छ।’














