रङ्गेली। मोरङको रतुवामाई नगरपालिका, ५ गोविन्दपुरमा तीन वर्षअघि स्थापना भएको समर कृषि फर्मले व्यावसायिक गाईपालनमा उल्लेखनीय सफलता हासिल गरेको छ। काठमाडौंमा दश वर्ष बिताएर गाउँ फर्किएका रमेश मैनालीको परिवारले सुरु गरेको यो फर्मबाट अहिले दैनिक दुई सय लिटर दूध उत्पादन हुने गरेको छ।
सोलुखुम्बुमा एक नेट कम्पनीको व्यवस्थापकका रूपमा काम गरिरहेका मैनालीले काठमाडौंमा एक जनाको कमाइले परिवार चलाउन गाह्रो भएपछि गाउँ फर्कने निर्णय गरे। ‘पहिले आठ बिघा खेतीयोग्य जमिन अरूलाई ठेक्कामा दिएर काठमाडौंमा बसिरहेका थियौँ,’ मैनालीले भने, ‘तर गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ फर्कियौँ।’
रमेश मैनाली
एक करोड रुपैयाँको लगानीमा सुरु गरिएको फर्ममा अहिले १७ वटा होलेन जातका उन्नत गाई छन्। आफ्नो आठ बिघा र थप चार बिघा लिजमा लिएर व्यवसायलाई विस्तार गरिएको छ। दैनिक उत्पादित दूध जीवन विकास संस्थाले खरिद गर्नुका साथै स्थानीय बजारमा समेत बिक्री हुन्छ।
मैनालीकी श्रीमती मञ्जु घिमिरेले स्नातकोत्तर उत्तीर्ण गरेर पनि भने जस्तो रोजगारी नपाएपछि यो व्यवसायमा लागेको बताइन्। ‘अहिले सबै परिवार खुसी छौँ, व्यवसाय राम्रो चलिरहेको छ,’ उनले भनिन्। मासिक सबै खर्च कटाएर एक लाख रुपैयाँसम्म नाफा हुने गरेको उनीहरूको भनाइ छ।
-1739353578.jpg)
तर व्यवसाय सञ्चालनमा केही चुनौतीहरू पनि छन्। दूध खरिदकर्ताले तीन महिनासम्म भुक्तानी ढिलो गर्ने गरेका छन्। त्यसैगरी सरकारी निकायबाट पर्याप्त सहयोग नपाएको मैनालीको गुनासो छ। सरकारले वास्तविक कृषकहरूको पहिचान गर्ने नस्कदा केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले झोला बोकर हिँडेको झोले कृषकहरूलाई अनुदान दिने र नेताहरूको चाकडी गर्नेहरूलाई प्रत्येक वर्ष अनुदानहरू दिने गरेको आरोप समेत लगाएका छन। उनले रतुवामाई नगरपालिकाको कृषि शाखाले गाईको स्वास्थ्य परीक्षण र अन्य समस्याबारे चासो नदेखाएको समेत बताए।
-1739353581.jpg)
मैनालीका अनुसार सरकारले वास्तविक कृषकको पहिचान गर्न नसक्दा केन्द्र, प्रदेश र स्थानीय सरकारको अनुदान झोलामा खेती गर्ने र नेताको चाकडी गर्नेहरूले मात्र पाउने गरेका छन्। यद्यपि, यी चुनौतीका बाबजुद मैनाली परिवारले आफ्नै खेतमा घाँस र मकै उत्पादन गरेर व्यवसायलाई दिगो बनाउँदै लगेका छन्। गाईको मलको प्रयोगले रासायनिक मल कम गर्न सकिएको र खेतीपातीमा समेत फाइदा पुगेको उनीहरूको अनुभव छ।
यसरी सहरको जीवन त्यागेर गाउँ फर्किएको मैनाली परिवारले कृषि क्षेत्रमा सफलताको एउटा उदाहरण पेश गरेका छन्। उनीहरूको सफलताले गाउँमै पनि राम्रो आम्दानी गर्न सकिने सन्देश दिएको छ।
-1739353582.jpg)
-1739353583.jpg)