काठमाडौं। उद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद् बैठकमा पर्यटन व्यवसायी सागर पाण्डेले पर्यटन क्षेत्रमा सुधारका लागि विभिन्न ठोस नीतिगत तथा संरचनागत पहलको माग गरेका छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन गरिएको परिषद्को सदस्यका रूपमा मनोनित भएपछि उनले निजी क्षेत्रको समस्या र समाधानबारे धारणा राखेका थिए।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले प्रमुख समस्याहरू उठान गर्दै सरकारसँग तिनको समाधान खोज्न आग्रह गरेका थिए। पाण्डेका अनुसार बैठकमा निजी क्षेत्र र सरकारी पक्षबीच विचारविमर्श हुँदा प्रमुख रूपमा युवा पलायन, दक्ष श्रमिकको अभाव, कम तलबभत्ता र व्यापारिक मन्दीजस्ता समस्याहरू बाहिर आएका छन्।
उनले यी समस्याहरूको समाधानका लागि आर्थिक विकास संकटकाल घोषणा गर्नुपर्ने धारणा राखेका छन्।
पर्यटन क्षेत्र सुधारका लागि प्रमुख मागहरू:
१. निजी क्षेत्रबाट प्रस्तुत गरिएको पर्यटन नीति तथा ऐनलाई कानुनी रूपमा समेटिनुपर्ने।
२. भारत र चीन सरकारसँग समन्वय गरी सहज, सुलभ र प्रत्यक्ष हवाई सेवाको विस्तार गर्नुपर्ने।
३. नेपालमाथि युरोपेली संघ (EU) द्वारा लगाइएको कालोसूची हटाउन विशेष पहल अघि बढाउनुपर्ने।
४. नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधारका लागि निजी क्षेत्रबाट प्रस्तुत तीन प्रमुख सुझावमध्ये एक लागू गर्नुपर्ने।
५. भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि विदेशी एयरलाइन्सहरूलाई विशेष प्याकेज अफर गरी आह्वान गर्नुपर्ने।
६. धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल-चीन (तिब्बत) कोरला नाका खोल्न पहल गर्नुपर्ने।
७. दुर्गम क्षेत्रमा विदेशी पर्यटक पुर्याउन नियन्त्रित क्षेत्रमा एकल प्रवेशाज्ञा (Entry Permit) प्रणाली खुला गर्नुपर्ने।
८. पर्यटकहरूको सुरक्षा र रोजगार सिर्जना गर्न उच्च हिमाली क्षेत्रमा जाने पर्यटकहरूलाई नेपाल सरकारबाट अनुमतिप्राप्त ट्रेकिङ कम्पनीमार्फत मात्र जान पाउने व्यवस्था लागू गर्नुपर्ने।
९. पर्यटन प्रवर्द्धनका लागि संघ सरकारले निजी क्षेत्र र स्थानीय निकायबीच समन्वय तथा सहकार्य बढाउनुपर्ने।
१०. साना तथा मझौला व्यवसाय (SME) प्रवर्द्धन गर्न सबै नागरिकको बैंकिङ पहुँच सुनिश्चित गर्नुपर्ने र धितोबिना ऋण दिने व्यवस्था मिलाउनुपर्ने।
११. हालको कर प्रणाली पुनरावलोकन गरी करको दायरा बढाउनु पर्ने, जसले पारदर्शी व्यापारिक अभ्यास वृद्धि गर्न मद्दत गर्नेछ।
१२. नेपालमा पर्यटक यातायात साधनहरू महँगा भएकोले स्तरीय सेवाका लागि विशेष छुटको व्यवस्था गर्नुपर्ने।
पाण्डेले प्रधानमन्त्री ओलीको अठोट सकारात्मक रहेको भन्दै यदि ती कुराहरू कार्यान्वयनमा आए भने मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुग्ने आशा व्यक्त गरे। परिषद्ले पर्यटन तथा हवाई क्षेत्र सुधारका लागि गठन गरेको कार्यसमितिमा पाण्डे स्वयंले प्रतिनिधित्व गर्ने जानकारी समेत गराइएको छ।