काठमाडौं। बाइक राइडिङ (मोटरसाइकल यात्रा) पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यममध्ये एक हो। बाइक राइडिङ गरेर आनन्द लिने र फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्दा पर्यटन प्रवर्द्धन हुन्छ।
नेपालमा यस्ता धेरै व्यक्ति र समूहहरु छन्, जसले बाइक राइडिङको माध्यमबाट पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसमध्यको एक हो, नेपाल बुलेट हाउस।
काठमाडौंको तीनकुनेमा रहेको नेपाल बुलेट हाउसले पर्यटन प्रवर्द्धनका लागि लामो समयदेखि देशका विभिन्न पर्यटकीयस्थलमा राइडिङ गरेको छ।
बुलेट हाउसले यस वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडाैं टू स्याङ्जा राइड (यात्रा) गर्दैछ। यो यात्रा स्याङ्जाका सिरुबारीलगायत अन्य पर्यटकीयस्थलहरु तथा कास्कीको ल्वाङ गाउँको पर्यटन प्रवर्द्धनका लागि भएको बुलेट हाउसका सञ्चालक रमेश कार्कीले बताए।
‘पोखराबाट २०/२५ किलोमिटर टाढा पुग्नुपर्छ। त्यहाँबाट माछापुच्छ्रे हिमाल छर्लङ देखिन्छ रे। त्यहाँ चियाबगान पनि छ रे। होमस्टे र पहाडको यात्रा त हुने नै भयो’, रमेशले हाँस्दै भने, ‘भ्यालेन्टाइनको समय पनि परेको छ।’

हार्ले डेविडसनका भिडियाेले जगाएको चाख
रामेछापमा जन्मे–हुर्केका रमेश कार्कीलाई विदेशी राइडरले हार्ले डेविडसनमा पहाडमा यात्रा गरेका भिडियोहरु हेर्न मज्जा लाग्थ्यो। तर, जागिरे जीवनमा त्यसरी राइड गर्न मिल्ने मोटरसाइकल थिएन।
सन् २०११ मा रोयल इनफिल्डसँग जोडिए। त्यसपछि रमेशको राइडिङ सुरु भयो। ‘रोयल इनफिल्ड ल्याएपछि राइडिङ सुरु गरेको हुँ’, उनी भन्छन्, ‘मलाई लाग्छ, राइडिङ कल्चरको सुरुवात गरेको इनफिल्डले नै हो।’
त्यसपछि नेपाल बुलेट हाउस सञ्चालनमा ल्याए। नेपाल बुलेट हाउस सर्भिस सेन्टर तथा क्लब हाउस हो। रमेशले यही बुलेट हाउसमार्फत खुसी, आनन्द र पर्यटन प्रवर्द्धनका लागि राइडिङ अभियान सुरु गरे।
उनी सुरु सुरुमा अरुहरुको टोलीसँग राइडिङ जान्थे। तर, अरुको टोलीसँग हिँड्दा आफूले सोचेअनुसार यात्रा गर्न पाइँदैन थियो। त्यसकारण आफ्नै टोली बनाएर राइडिङ गर्ने, आफूले पनि रमाइलो गर्ने र अरुलाई पर्यटकीयस्थलहरु चिनाउने लक्ष्य लिए।
नेपालका सबै ठाउँमा सडक सञ्जाल बिस्तार भएको हुँदा दुईपांग्रे सवारीबाट जहाँसुकै पनि पुग्न सकिने तथा पर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास उनले राखे।

‘हामी २०/२५ जनाको एउटा टोली कुनै ठाउँमा जान्छौं। त्यहाँ पुगेर फोटो भिडियो खिच्छौं। ती फोटोहरु सामाजिक सञ्जालमा राख्दा एक जनाको पोस्ट सय जनाले हेर्दा पनि दुई हजार-पच्चीस सय मानिसले त्यहाँको बारेमा थाहा पाउँछन्। तीमध्ये केही मानिस त्यो ठाउँमा घुम्न गए भने पनि पर्यटकको संख्या बढ्छ’, रमेशले भने, ‘पर्यटन भनेको यसरी नै बिस्तार हुँदै जाने त हो।’
रमेशलाई लाग्छ यात्राबाट पहिला आफूले आनन्द लिन र अरुलाई पर्यटकीयस्थल चिनाउन सकिन्छ। ‘मेरो लागि यात्रा आनन्दको माध्यम हो। र, हामीले यात्रा गरेको ठाउँमा अरुहरु पनि जाहोस् भन्ने चाहना हुन्छ।
नेपालमा चिन्न र चिनाउन बाँकी धेरै कुराहरु भएकोले सबैले यात्रा गर्नुपर्ने रमेशको भनाइ छ। उनको टोलीले अहिलेसम्म ६५ भन्दा बढी राइड गरेको छ। टोलीले पछिल्लो समय रामेछापको तामेडाँडा तथा दोलखाको जिरी पुगेको थियो। र, डोल्पासम्म टोलीले बाइक राइडिङ गरेको छ।
टोलीमा व्यवसायी, विद्यार्थी, पत्रकारलगायतका व्यक्तिहरु पनि सहभागी छन्।

सडक अनुशासन
यो टोलीले पर्यटन प्रवर्द्धनसँगै अर्काे महत्वपूर्ण कुरा सडक सुरक्षा र अनुशासन सिकाउँछ। ‘राइडिङको अर्को महत्वपूर्ण कुरा हो, सडक सुरक्षा र अनुशासन हो। काठमाडौंमा हामीले ट्राफिक सिस्टम अस्तव्यस्त देख्छौँ नि। यात्रामा त्यस्तो हुँदैन’, रमेशले भने।
उनका अनुसार राइडिङ जाने मोटरसाइल अपडेटेट हुनु पर्ने पहिलो सर्त हो। यो भनेको मोटरसाइकल नवीकरण, लाइसेन्स नवीकरण, सर्भिसिङ...।
त्यसपछि सुरक्षाका उपकरण र अनुशासन हो। ‘हामी लाइनमा हिँड्छौं। सबैभन्दा अगाडि लिडर हुन्छ, पछाडि मर्मत गर्ने मेकानिकल टोली। यो टोलीको दृश्य हेर्दा लोभलाग्दो हुन्छ। मलाई सबैभन्दा मन पर्ने कुरा पनि यही हो’, रमेशले भने।
भिडियाे: