काठमाडौं। करिब चार दशकदेखि हवाई उडानमा समर्पित पाइलट क्याप्टेन वेद उप्रेतीले प्रेरणादायी उपन्यास ‘पायलट प्रेम’ सार्बजनिक गरेका छन्। यसमा प्रेमकथा मात्र होइन, पाइलटको जिन्दगीका आरोह तथा अवरोह पनि झल्काइएको छ।
‘यसमा समेटिएको ९० प्रतिशत कथा रियल हो’, क्याप्टेन उप्रेती भन्छन्, ‘बाँकी १० प्रतिशत कल्पनामा आधारित छ।’ उपन्यासमा प्रेमकथा पढ्दै जाँदा पाइलट कसरी बन्ने ? जहाज कसरी उडाउने ? टर्बुलेन्स के हो ? आदि प्रश्नको जवाफ समेत पाइन्छ। विशेषतः विद्यार्थीका लागि यो पुस्तक उपयोगी छ।
यसअघि कफी टेबुल बुक र मोटिभेसनल गरी १२ वटा पुस्तक प्रकाशन गरेका उप्रेतीको ‘पायलट प्रेम’ १३ औं पुस्तक हो। बुलबुल प्रकाशनले छापेको पुस्तकको मूल्य ४५० रुपैयाँ राखिएको छ।

केही दिनअघि धनगढीमा यो उपन्यास विमोचन गरिएको थियो। काठमाडौंमा आउँदो शुक्रबार काठमाडौंको सिनामंगलस्थित एभियसन म्युजियम फेरि बिमोचन गरिनेछ । स्मरणीय छ, सेकेन्ड लेफ्टिनेन्टका रुपमा वि.सं. २०४० सालमा नेपाली सेनामा प्रवेश गरेका उप्रेतीले नेसनल डिफेन्स एकेडेमी र इन्डियन एयरफोर्स एकेडेमीमा पाइलट कोर्स गरेका थिए। पछि अमेरिकाबाट कर्मसियल तालिम लिएका उनले भारतको जवाहरलाल युनिभर्सिटीबाट ग्रयाजुएसन र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन्।
वि.सं. २०५२ सालमा नेपाली सेना छाडेपछि निजी क्षेत्रको वर्ष नेकोन एयरमा उनले कर्मसियल उडान सुरु गरेका थिए। त्यसपछि एयर डेकन, किङफिसर एयरलाइन्स, लायन एयर, युएस बंगला हुँदै हाल भारतको एलायन्स एयरमा प्रशिक्षक पाइलटका रुपमा कार्यरत छन्।
उनले काठमाडौं र महेन्द्रनगरमा एभियसन म्युजियम सञ्चालन गर्दै आएका छन्।
