उर्लाबारी। जनताको सेवा, वडाको विकास र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी- ९का कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ।
जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्रमार्फत् उनले १४ जनालाई रोजगारी दिएका छन्। हाल सो केन्द्रबाट दैनिक २५० किलो च्याउ उत्पादन हुँदै आएको छ।
उनका अनुसार कृषिलाई केवल व्यवसायमात्र नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरको रूपमा अघि बढाउनु आवश्यक छ।
वडाध्यक्ष मोक्तानले कालोपत्रे सडक, पूर्वाधार निर्माण र कृषिमा लगानीजस्ता कार्यलाई विशेष प्राथमिकता दिएका छन्। फरक राजनीतिक विचार राख्नेहरूसमेत उनको कार्यशैली र इमानदारिताको प्रशंसा गर्छन्।

स्थानीयहरू भन्छन्, ‘उहाँ पदमा नहुँदा पनि पहुँच राख्ने व्यक्ति हुनुहुन्थ्यो, अहिले त जनप्रतिनिधि भएपछि झन् धेरैको सेवा गर्न सक्नु भएको छ।’
बहुदल आएपछि २०४९ सालमा उनले गा.वि.स. उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि २०५४ सालमा गा.वि.स अध्यक्षमा उठे तर दुवैमा पराजित भए। त्यसपछि उनी विदेशिए।
विदेशी भूमिबाट फर्किएपछि उनले पुनः कृषिमा सक्रियता देखाए। पछि स्वतन्त्र रूपमा उर्लाबारी- ९को वडा अध्यक्षमा उम्मेदवारी दिए तर झिनो मतले पराजित भए। त्यसपछि नेपाली कांग्रेसबाट पुनः उम्मेदवारी दिएर प्यानलसहित विजयी भए।
‘म जनताको सेवा गर्न आएको हुँ। मेरो व्यक्तिगत खर्च कृषिबाटै चल्छ’, मोक्तान भन्छन्। उनका छोराछोरी अध्ययन गरेर योग्य स्थानमा पुगेका छन्। त्यसैले पनि उनी भन्छन्, ‘म विशुद्ध समाजसेवाका लागि राजनीतिमा आएको हुँ।’
कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै आत्मनिर्भर बनाउनुपर्ने उनको धारणा छ। विकास र उत्पादनलाई सँगै अगाडि बढाउन सके मात्र देशले समृद्धि पाउने उनकाे भनाइ छ।
मोक्तानले ३ वर्ष बहराइन, त्यसपछि ६ वर्ष कोरिया, ६ महिना मलेसिया, १ वर्ष थाइल्यान्ड र ६ महिना ताइवान बसेर विभिन्न अनुभव संकलन गरे। तर, गाउँको विकास मोह कहिल्यै हराएन। स्वदेश फर्किएपछि उनले कृषिमा लगानी गरे र जनताको सेवामा निरन्तर लागिरहे।
उनको योजनामा उर्लाबारी- ९लाई कृषि, पर्यटन र पूर्वाधारको हब बनाउने लक्ष्य छ। उनी भन्छन्, ‘कृषिलाई प्रविधिसँग जोड्न सकेमा मात्र युवा विदेशिनु पर्दैन। म यही उदाहरण दिन चाहन्छु।’

उनको योगदानले उर्लाबारी- ९मात्र होइन, सिंगो उर्लाबारी क्षेत्र नै आत्मनिर्भर हुन सक्ने सम्भावना देखिएकोछ। ‘विकास भनेको गफ होइन, काम हो। म काम देखाउन चाहन्छु,’ मोक्तानको प्रतिबद्धता यस्तो छ।
नरबहादुर मोक्तान एक त्यस्ता जनप्रतिनिधि हुन्, जसले सधैं जनताको सेवामा आफूलाई समर्पित गरेका छन्। कृषि र विकासमा उनको लगानीले उर्लाबारी- ९ मात्र नभई अन्य वडाहरूका लागि पनि उदाहरणीय कार्यहरू प्रस्तुत गरेको छ। उनको नेतृत्वमा उर्लाबारी- ९ थप समृद्ध हुने विश्वास स्थानीय बासिन्दाले गरेका छन्।
‘हाम्रो वडाध्यक्ष मोक्तानले देखाएको बाटोमा अन्य जनप्रतिनिधिहरूले पनि हिँड्नुपर्छ’, स्थानीय अमृत थक्लुङले भने।