काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए)ले आफ्ना २७ वटा हिमालको आरोहण अनुमतिपत्र लिनका लागि आवश्यक पर्ने बीमासम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्वतारोहण नियमावलीमा दुर्घटना बीमा, मेडिकल बीमा तथा हेली रेस्क्यू बीमा अनिवार्य गरेसँगै नेपाल पर्वतारोहण संघले आगामी १ मार्च २०२५ देखि पर्वतारोहण सेवासम्बन्धी नयाँ शुल्क तोक्ने निर्णय गरेको हो।
संघका अनुसार अबदेखि नेपाली पेसागत कामदारहरू (सरदार, सपोर्ट क्लाइम्बर तथा सिनियर सपोर्ट क्लाइम्बर)को लागि संघले नै बीमा गरिदिने छ। सो अन्तर्गत दुर्घटना बीमा १५ लाख रुपैयाँ, मेडिकल बीमा ४ लाख रुपैयाँ र हेली रेस्क्यू बीमा अमेरिकी डलर १०,००० सम्म रहेकाे छ।
यी सुविधाको लागि प्रत्येक नेपाली पर्वतारोहण गाइडका लागि रु. ८,५०० (भ्याट बाहेक) बीमा शुल्क लाग्नेछ। साथै, आरोही (विदेशी पर्यटक) का लागि रु २,००० (भ्याट बाहेक) विमा व्यवस्थापन सेवा शुल्क लाग्ने संघले जनाएको छ।
संघले बीमा अनिवार्य रूपमा आफैंबाट गर्नुपर्ने बाध्यता नरहेको स्पष्ट पारेको छ। तर, आरोहण अनुमतिपत्र लिँदा तीनवटै बीमा गरिएको हुनुपर्ने नियम भने यथावत् रहेको छ। यसअघि ट्रेकिङ कम्पनीहरूले हेली रेस्क्युका लागि प्रतिबद्धता पत्र बुझाउनुपर्ने प्रावधान सरकारले हटाएको पनि संघले जनाएको छ।
थप जानकारीका लागि नागपोखरी, नक्सालस्थित नेपाल पर्वतारोहण संघको केन्द्रीय सचिवालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
