ललितपुर। डाेल्पाकाे पुङ्माे गाउँका प्राचीन गीत काठमाडाैंमा गुञ्जिएका छन्।
शुक्रबार साँझ ललितपुरस्थित झम्सीखेलको मोक्ष रेष्टुरेन्टमा आयाेजित ‘पुङ्माे खुङ लु’मा डाेल्पाका प्राचीन गीतहरु प्रस्तुत गरिएकाे हाे।
डाेल्पाका गाउँमा पुस्ताैंदेखि गाइँदै आइएका प्राचीन गीतहरुकाे संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम आयाेजना गरिएकाे हाे। प्राचीन धुनहरुलाई आधुनिक शैलीबाट प्रस्तुत गरिरहँदा खचाखच दर्शक/स्राेता मन्त्रमुग्ध भएका थिए।

कार्यक्रममा सर्वसाधारणका लागि एक हजार र विद्यार्थीका लागि पाँच सय रुपैयाँ प्रवेश शुल्क ताेकिएकाे थियाे। प्रवेश शुल्कबाट संकलन भएकाे उक्त रकम प्राचीन गीतहरु रेकर्डिङ र संरक्षणका लागि खर्चिने आयाेजकले जनाएकाे छ। थप रकम संकलनक लागि दान बक्स पनि राखिएकाे थियाे।
पुङ्माेकाे सांगीतिक विरासतलाई कायम राख्न र नयाँ स्राेतमाझ पुर्याउने उद्देश्यले कार्यक्रम गरिएकाे आयोजक एरिक श्रेष्ठ भने। उनले भने, ‘यसको काव्यात्मक ज्ञानले भावी पुस्ताहरूलाई प्रेरणा दिन्छ।’
आयोजक सदस्य समाजसेवी सेमदुक लामाले कार्यक्रम भव्यताका साथ सफल भएकाे बताए। यसले डाेल्पाकाे परम्परागत संगीतलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेकाे बताए।
गायकहरु फुञ्चोक बाईजी, छेवाङ दुन्दुप लामा, पासाङ बाईजी, सोनम बाईजी, युङद्रुङ साङ्मु लामालाई संगीतमा मोआ चिले, टोमस मियास, पाउ रोज, दीक्षित आधिकारी, सुधिर आचार्यले साथ दिएका थिए।
कन्सर्टकाे आयोजना सेमदुक लामा र एरिक श्रेष्ठले गरेका हुन्।

रैथाने गीतहरुकाे प्रवर्द्धनका लागि कार्यक्रम आयाेजना गरिएकाेप्रति शे-फोक्सुण्डो गाउँपालिका वडा नं. ९ का अध्यक्ष लार्के लामाले खुसी व्यक्त गरे।
उनले पुङ्मोका स्थानीय बासिन्दाले आफ्नो प्रिय संगीत भावी पुस्ताका लागि सुरक्षित राख्न चालेका कदमले डोल्पाका लोपोन्मुख गीतहरूको पुनरुत्थान र संरक्षणमा टेवा पुग्ने उल्लेख गरे। ‘पुरानो पुस्ता बितिसके, नयाँ पुस्तालाई यसको ज्ञान छैन,’ उनले भने।
आयोजकप्रति कृतज्ञनता प्रकट गर्दै परम्परागत संगीतको पुनर्जागरण र प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ।


