नेपाल पर्यटन बोर्डले फेब्रुअरी ५ देखि ७ तारिखसम्म टर्कीको इस्तानबुलमा आयोजित पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनीमा आफ्नो सफल सहभागिता सम्पन्न गरेको छ।
तीन दिनसम्म चलेको यो महत्वपूर्ण कार्यक्रम नेपालका लागि आफ्नो सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र आध्यात्मिक अनुभवहरू अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर बन्न पुग्यो बार्डले जनाएकाे छ।
प्रदर्शनीमा सहभागी पर्यटन व्यवसायीहरूकाे संयुक्त प्रयासमा नेपालका साहसिक ट्रेकिङ, तीर्थयात्रा मार्गहरू र दिगो पर्यटन अनुभवहरू विशेष रूपमा प्रवर्द्धन गरिएकाे थियाे।
टर्कीका यात्रुहरू, बाल्कन राष्ट्रहरू तथा दक्षिणपूर्वी युरोपका पर्यटकहरूबाट उल्लेखनीय प्रतिक्रिया प्राप्त भएको बाेर्डले जनाएकाे छ। हाल नेपालप्रति यस क्षेत्रका यात्रुहरूको आकर्षण बढ्दै गएको छ, जसको पछाडि नेपालमा हवाई सम्पर्कको विस्तार र सांस्कृतिक तथा साहसिक पर्यटनप्रति बढ्दो रुचि प्रमुख कारण रहेको छ।
टर्कीबाट नेपाल भ्रमण गर्ने पर्यटक संख्या निरन्तर वृद्धि भइरहेको छ। सन् २०२४ मा ५,३७३ टर्की नागरिकहरूले नेपाल भ्रमण गरेका थिए, जुन अघिल्लो वर्षहरूभन्दा उल्लेखनीय वृद्धि हो। यस्तै, जर्मनी (२९,८०१), बेलायत (५७,५५४) र फ्रान्स (२५,१२६) बाट सन् २०२४ मा आएका पर्यटकहरूको उच्च संख्याले नेपालप्रति युरोपेली पर्यटकहरूको चासो बढ्दै गएको स्पष्ट संकेत गरेको छ।