रसुवाको एउटा सानो गाउँमा हुर्केकी पार्वती जोशीलाई कसैले भनेको थिएन कि उनी एक दिन नेपालको चर्चित पथप्रदर्शक बन्नेछिन्। बाल्यकालदेखि नै साहसिक स्वभावकी पार्वती आफ्ना केटा साथीहरूसँग भलिबल खेल्न रुचाउँथिन्। उनलाई थाहा थिएन कि यो साहसिक स्वभावले नै उनलाई हिमालको यात्रामा डोर्याउनेछ।
‘म बच्चा देखि नै अलि साहसिक व्यक्ति हुँ। मलाई पर्यटन क्षेत्रमा यो काम हुन्छ यसरी काम गर्न सकिन्छ भन्ने त थाहा थिएन,’ पार्वती सम्झिन्छिन्।
एसएलसीमा एक विषयमा फेल भएपछि ट्युसन पढ्ने बहानामा काठमाडौं आइपुगेकी पार्वतीको जीवनमा मोड आयो जब उनले थ्री सिस्टर्स कम्पनीमा तालिम लिने अवसर पाइन्। शारीरिक रूपमा बलियी पार्वतीले त्यहाँ बसेर ट्रेकिङको तालिम लिइन्। २०११ मा उनको पहिलो ट्रेकिङ यात्रा पोखराबाट हेलम्बुतर्फ थियो, जहाँ उनले मात्र ७५० रुपैयाँ कमाइन्।
‘पहिलो पदयात्रा २०११ तिर पोखराबाट हेलम्बुको थियो। मेरो पहिलो पटकको पदयात्रा त्यहीँ थियो, मेरो पदयात्रा त्यहीँबाट सुरु भएको हो,’ उनी भन्छिन्।

पहिलो यात्रापछि गाउँ फर्किएर स्कुल पढाउन थालिन्। तर उनको मन भने ट्रेकिङको रसमा भिजिसकेको थियो। चार महिना पढाएपछि फेरि काठमाडौं फर्किइन् र सोसल टुर्समा आबद्ध भइन्। ‘मैले त्यो समयमा सोसल टुर्सलाई नभेटेको भए सायद म यो ठाउँमा पनि हुन्न थिएँ होला,’ उनी कृतज्ञतापूर्वक भन्छिन्।
पार्वतीको यात्रा सजिलो थिएन। आमा तामाङ भएकाले नेपाली भाषामा कमजोर, आर्थिक अभाव र परिवारको विरोध – यी सबै चुनौतीहरूको सामना गर्दै उनी अघि बढिन्। सोसल टुर्सको सहयोगले उनलाई नयाँ उडान मिल्यो। उनले क्लाइम्बिङ र साइक्लिङमा पनि रुचि राख्न थालिन्।
२०१४ मा लाइसेन्स प्राप्त गरेपछि उनले पेसेवर पथप्रदर्शकको रूपमा आफ्नो यात्रा सुरु गरिन्। अन्नपूर्ण सर्किट, गोसाइकुण्ड, लाङटाङ, र सगरमाथा आधार शिविर जस्ता प्रसिद्ध पदमार्गहरूमा उनले विदेशी पर्यटकहरूलाई डोर्याउँदै आएकी छिन्।

‘यो काम चुनौतिपूर्ण हो। बाहिर हिँड्दा सधैँ राम्रो हुन्छ भन्ने हुँदैन। कहिले खानाको समस्या, कहिले बस्नको समस्या हुन्छ। कहिले पर्यटकहरूका लागि डाक्टर बन्दिनु पर्छ, कहिले आमा बन्दिनु पर्छ,’ उनी आफ्नो अनुभव साट्छिन्। पछिल्लो समय नेपाल आउने पर्यटकहरूको रुचि फेरिएको उनी बताउँछिन्। ‘अहिले नयाँ नयाँ आकाशमा तारा हेर्ने, त्यसमा रमाउने खालको पर्यटकहरू पनि आउन थाल्नु भएको छ।’
महिला भएर पनि उनले कहिल्यै विभेदको सामना गर्नुपरेन। बरु, उनको अनुभवले देखाउँछ कि पर्यटकहरू र साथीहरूबाट सधैँ सहयोग र समर्थन पाएकी छिन्। २०१६ मा उनले माउन्टेनरिङ गाइडको बेसिक तालिम लिइन्, र २०१७ मा लिडरको रूपमा पदोन्नति पाइन्।
पार्वतीको महत्वाकांक्षा अझै थामिएको छैन। ‘मेरो भविष्यको योजना भनेको सगरमाथा आरोहण गर्ने हो। यो क्षेत्रमा धेरै काम गरियो, अब सगरमाथा चढ्ने इच्छा छ,’ उनी आफ्नो अर्को लक्ष्य बताउँछिन्।

परिवारले पागल भन्छन्, तर पार्वतीलाई आफ्नो रोजाइमा पूर्ण विश्वास छ। ‘मेरो आफ्नो इच्छा भएकोले पनि होला म खुसी छु। अरुको दबाबमा काम गरेको भए सायद त्यति खुसी हुन सक्दिन थिएँ होला,’ उनी भन्छिन्।
आज पार्वती नेपालको पर्यटन क्षेत्रमा एक सफल महिला पथप्रदर्शकको रूपमा चिनिन्छिन्। उनी नयाँ पुस्ताका महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्, जसले हिमालको छायाँमा आफ्नो भविष्य खोज्न चाहन्छन्। उनै जाेशीसँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलामा कुराकानी गरेको छ।

