काठमाडौं। ‘युङ्डुङ् बोन्’ धर्मको अभ्यास गरिरहेका ३७ देशका धर्मगुरु तथा प्रतिनिधिहरूको काठमाडौं स्थित ट्रितेन नोबुर्चे गुम्बामा जमघट भइरहेको छ। नव निर्मित गुम्बा उद्घाटन, धर्म गुरू योङ्जिन लोपोन तेन्जिङ नाम्दाक रिम्पोछेको शताब्दीऔं जन्मोत्सव मनाउन र छैटौं अन्तर्राष्ट्रिय बोन सम्मेलनमा सहभागी हुन जमघट भएको हो।
गुम्बाका सञ्चालक गेसे लोडोई छोगलेकका अनुसार विदेशबाट आएका ४ सय जना प्रतिनिधिको सहभागिता छ भने हजारौं नेपाली छन्। ‘पूजनीय रिम्पोछेज्यूको जन्मोत्सव मनाउन र नयाँ गुम्बा उद्घाटनमा हजारौंको सहभागिता भएको छ’, गेसे छोगलेक भन्छन्, ‘माघ १९ गतेदेखि सुरु भएको कार्यक्रम फागुन १ गतेसम्म सञ्चालन हुनेछ।’
-1738838955.jpg)
माघ १९ देखि २२ गतेसम्म नयाँ गुम्बाको अभिषेक र योङजिन रिम्पोछेको दीर्घायू पूजा गरियो। माघ २३ गते नयाँ गुम्बाको उद्घाटन गरियो। माघ २४ गते धुमधामसँग रिम्पोछेका शताब्दीऔं जन्मोत्सव मनाइयो । उक्त अबसरमा रिम्पोछेको दीर्घायू प्रार्थना र मण्डला अर्पण गरिएको थियो।
शुक्रबारदेखि भने छैटौं अन्तर्राष्ट्रिय बोन सम्मेलन सुरु भएको छ। सम्मेलन शनिबारसम्म चल्नेछ । फागुन १ गते आइतबार भने यहाँबाट उत्र्तिण विद्यार्थीलाई गेसे उपाधी वितरण गरिनेछ।
बिहिबार रिम्पाेछेकाे जन्माेत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम समेत गरिएकाे थियाे। विभिन्र जातजातिकाे परम्परागत भेषभुषामा नाचगान गरियाे। साथै चर्चित कलाकारहरू मेलिना राई, सोनाम तप्देन लगायतका कलाकारको प्रस्तुतिमा सबैजना रमाएका थिए। कार्यक्रमको उद्घोषण पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकि थिइन्।
याे पनि ः बोन गुम्बामा मनाइयो योङ्जिन रिम्पोछेको शताब्दीऔं जन्मोत्सव (भिडियाे)
स्मरणीय छ, शताब्दीऔं जन्मोत्सव मनाइरहेका योङजिन रिम्पोछेले सन् १९८६ सालमा काठमाडौंको तीनघरेमा ‘ट्रितेन नोर्बुचे गुम्बा’ स्थापना गरेका हुन्। यसलाई बोन धर्माबलम्बीको नेपालकै ठुलो गुम्बाको रुपमा स्थापित गराउने श्रेय पनि उनैलाई जान्छ। यहाँ बोन धर्म संस्कृतिको संरक्षण र साधना गरिन्छ। साथै गेसे (डाक्टर अफ फिलोसपी)सम्मको पढाई हुन्छ।
बोन धर्मका संस्थापक तोन्पा शेन्राव मिवोले मानव कल्याण र सुख शान्तिका लागि देखाएको बाटो अनुसरण गरेर रिम्पोचेले विश्वलाई उज्यालो मार्गमा हिँडाएका छन्। उनले बोन धर्मका विषयमा दुई दर्जन भन्दा बढी पुस्तक लेखेका छन्।
योङ्जिन रिम्पोछे
‘बोन धर्म संस्कृतिको संरक्षणमा पूजनीय रिम्पोछेज्यूको अतुलनीय योगदान छ’, गेसे छोगलेक भन्छन्, ‘उहाँ हाम्रा लागि बुद्ध नै हुनुहुन्छ ।’
‘बोन’ हजारौँ वर्ष पुरानो धर्म हो। संसारका सबै प्राणीलाई सबै खाले दुःखबाट रक्षा गर्ने धर्मलाई ‘युङ्ढुङ् बोन धमर्’ भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ। बोन धर्मका प्रवर्तक तोन्पा शेराव मिवो हुन्। उनले १८ हजार ४० वर्ष अघि यो धर्म सुरु गरेका थिए।
बोन धर्मका संस्थापक तोन्पा शेन्राव मिवो
समय क्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन ग्रन्थहरूमा उल्लेख छ। तोन्पा शेन्राव आठौँ बुद्ध हुन्। उनी स्याङ्स्युङ् राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मेका थिए।
जनहितका लागि उनले प्रतिपादना गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश सङ्ग्रह गरिएका १४० ओटा पुस्तक छन्, जसलाई काङ्ग्युर भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीनसय शास्त्र रचिएका छन्। तिनलाई कातेन भनिन्छ।
नेपालको डोल्पा, मुस्ताङ्, हुम्ला, जुम्ला, बाग्लुङ, मुग,ु कास्की, चितवन, काठमाडौँलगायत विभिन्न ठाउँमा बोन धर्मावलम्बीको बसोबास छ। हिमाली जिल्ला डोल्पामा मात्र तीन दर्जन भन्दा बढी बोन गुम्बा छन्। त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ। विश्वका ५० भन्दा बढी देशमा बोन धर्म तथा संस्कृतिको अभ्यास गरिन्छ।
याे पनिः पूजनीय रिम्पोछेलाई शुभकामना !
गेसे लोडोई छोगलेक
-1738923669.jpg)
छैटौं अन्तर्राष्ट्रिय बोन सम्मेलन
गायिका मेलिना राई
