काठमाडौं। फेब्रुअरी ७, भ्यालेन्टाइन सप्ताहको पहिलो दिन। प्रेमको सुरुवात गर्ने दिन पनि भनिन्छ। यो दिन जब हावामा गुलाबको सुगन्ध मिसिन्छ, तब धेरैको मनमा माया व्यक्त गर्ने हिम्मत आउँछ।
रोज डे विशेष भएर पनि मनाइन्छ किनभने यो दिन गुलाबले प्रेम, मित्रता, कृतज्ञता र भावना व्यक्त गर्ने माध्यम बन्छ। तर, के तपाईंलाई थाहा छ, गुलाबको रंगले बेग्लै अर्थ बोकेको हुन्छ? गलत रंगको गुलाब दिएर तपाईंको भावनालाई नै गलत रूपमा बुझ्ने सम्भावना पनि हुन्छ। त्यसैले, प्रेमलाई सही रूपमा अभिव्यक्त गर्न कुन रंगको गुलाब दिने भन्ने कुरा थाहा पाउनु जरुरी छ।
गुलाबका रंग र तिनको अर्थ
रातो गुलाब: प्रेम, रोमान्स, अनि गहिरो भावना व्यक्त गर्न रातो गुलाब उत्तम विकल्प हो। यदि तपाईं आफ्नो मनपर्ने व्यक्तिलाई माया प्रकट गर्न चाहनुहुन्छ भने, रातो गुलाब उपहार दिनुहोस्।
गुलाबी गुलाब: कृतज्ञता, मिठास, र आकर्षणको संकेत हो। तपाईं कसैप्रति सम्मान, प्रशंसा, वा आफ्नो सौम्य भाव व्यक्त गर्न चाहनुहुन्छ भने गुलाबी गुलाब उपयुक्त हुन्छ।
पहेंलो गुलाब: मित्रताको प्रतीक। यदि तपाईं कसैलाई राम्रो साथीका रूपमा देख्नुहुन्छ भने, पहेंलो गुलाब दिन सक्नुहुन्छ। यो खुसी, आत्मीयता र साथीभावको संकेत हो।
सेतो गुलाब: निष्कलंक प्रेम र शान्तिको प्रतिक। यदि तपाईंको भावना पवित्र, निष्कपट र इमानदार छ भने सेतो गुलाब दिनुहोस्।
सुन्तला गुलाब: उत्साह, जोश र उमंग दर्शाउने रंग। यदि तपाईं आफ्नो सम्बन्धमा थप उत्साह भर्न चाहनुहुन्छ भने सुन्तला गुलाब सही रोजाइ हुन सक्छ।