काठमाडौं। बिमस्टेक सदस्य राष्ट्रहरूको पर्यटन प्रवर्द्धनलाई सशक्त बनाउन काठमाडौंमा बिमस्टेक नेटवर्क अफ टूर अपरेटर्सको तेस्रो बैठक सुरु भएको छ।
माघ २४ र २५ गतेसम्म चल्ने बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड र नेपालका पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।
बैठकको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र बिमस्टेकका निर्देशक सी थु आङले गरे।
उद्घाटन कार्यक्रममा सचिव सिंहले नेपालले क्षेत्रीय पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताए। साथै, उनले बिमस्टेकमार्फत अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्दै साझा सम्पदाको पहिचान र उपयोग गर्न सकिने उल्लेख गरे।
![binod-prakash-singh-1738834609.jpg](https://www.everestpedia.com/uploads/posts/binod-prakash-singh-1738834609.jpg)
बिमस्टेकका निर्देशक सी थु आङले पर्यटन क्षेत्रलाई आर्थिक विकासको महत्त्वपूर्ण हिस्सा बताउँदै भने, ‘बिमस्टेक मुलुकहरूबीचको सहकार्यले अपूरो रहन गएको पर्यटन सम्भावनालाई उपयोग गर्न मद्दत गर्छ। यसले रोजगारी, राजस्व वृद्धिसँगै सांस्कृतिक आदानप्रदान र जनस्तरमा सम्बन्ध मजबुत बनाउन टेवा पुर्याउनेछ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल क्षेत्रीय पर्यटन प्रवर्द्धनको केन्द्र बन्न सक्ने उल्लेख गर्दै बैठकले दीर्घकालीन सहकार्य र रणनीति निर्माणका लागि महत्त्वपूर्ण अवसर उपलब्ध गराउने बताए।
बैठकमा बिमस्टेक बौद्ध तथा क्रूज परिपथको सञ्चालन, गन्तव्य व्यवस्थापन, संयुक्त बजार प्रवर्द्धन, पर्यटन आदानप्रदान कार्यक्रम, भिसा सहजताजस्ता विषयमा छलफल हुने बताइएकाे छ। साथै, बिमस्टेक ट्राभल एन्ड टूरिजम मार्टको वार्षिक रूपमा आयोजना गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।