काठमाडौं। स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ललितपुरको प्रकृतिप्रेमी समूहले आफ्ना सदस्यहरूलाई दोलखाको रमणीय धार्मिक हिलस्टसेन हनुमन्तेश्वर घुमाएको छ। समूहकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा १९ जना प्रकृतिप्रेमीहरू हनमुन्तेश्वर (३,१०० मिटर) पुगेर प्रकृति र अध्यात्मको दोभानमा रमाए।
उनीहरूले लाङटाङ, गौरीशंकर, नुम्बुर लगायत हिमसृङ्ला, शिवलिङ्ग र हनुमानको दर्शन गरे। खुलेका हिमाललाई पृष्ठभूमिमा राखेर उनीहरूले एउटा नारा घन्काए, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा ।’
यसरी समूहले उचित आहार, विहार र विचार मार्फत् निरोगी रहने व्यबहारिक ज्ञान बाँड्दै आएको छ। तीन दिने दोलखा यात्रामा निस्केको समूह पहिलो दिन गत माघ १६ गते दोलखाका खरिढुङ्गा, चरिकोट, हनुमन्तेडाँडा घुमेर बास बस्न साँझ जिरी बजारको ‘होटल हेमन्त’मा पुगेको थियो। माघ १७ गते उनीहरू अर्को हिलस्टेसन चेर्दुङ घुमेर साँझ जिरीमै बसे। र, यात्राको तेस्रो दिन जिरी बजार र दोलखा भीमसेन घुमेर काठमाडौं फर्किए।
भोलिपल्ट चेर्दुङ (३,७०० मिटर) चढ्नु पर्ने भएकाले अघिल्लो दिन उनीहरू हनुमन्तेडाँडा (३,१०० मिटर) चढेर एक्लमटाइज भए। खावाबाट करिब ४०० मिटरसम्म गाडिमा गएर त्यहाँबाट उनीहरूले पदयात्रा गरेका थिए। यसरी नयाँ गन्तव्य अवलोकनका साथै एक्लमटाइज हुन पाउँदा सबैजना खुसी बने।
स्मरणीय छ, वैतेश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकाको सङ्मस्थल हनुमन्तेडाँडा प्राकृतिक र धार्मिक हिसाबले निकै सुन्दर छ। हनुमन्तेको सन्दर्भ हिन्दू धर्मग्रन्थ रामायणसँग जोडिएको छ। रामायण कथाअनुसार भगवान लक्ष्मणको उपचारका लागि जडीबुटीको खोजीमा निस्केका हुनुमान यहाँ आइपुगेका थिए। हनुमानले यही डाँडामा बसेर चारैतिर नियालेको र यतैको पहाड बोकेर लगेको किँबदन्ती छ । त्यसैले यसलाई हनुमन्तेडाँडा भनिएको।
डाँडामा गुफा र हनुमानको मूर्ति छ। ओढारमा प्राकृतिक शिवलिङ्ग छ। शिवलिंगमाथि गाईका थुन आकारको मूर्ति छ, जसबाट तपतप जल वर्षा भैरहन्छ। हनुमन्ते क्षेत्रको विकासका लागि स्थानीयले ‘हनुमन्तेश्वर विकास समिति’ गठन गरेर काम गर्दै आएका छन्। समूहका पदयात्रीहरूलाई समितिका अध्यक्ष नुर्बु शेर्पाले हनुमन्तेको बारेमा बताएका थिए।
हनुमन्तेडाँडामा खाना र बास सुबिधा छैन। तल खावा बजार र पर्तिरको जिरीमा होटल तथा रेस्टुराँ सुबिधा छ। त्यसैले खावाबजार वा जिरीमा बास बसेर बिहानै खावाडाँडाबाट मर्निङ वाक गर्न पनि सकिन्छ।
कसरी पुग्ने ?
काठमाडौं–चरिकोट–खावा १७६ किलोमिटर, गाडिमा ६ः५ घण्टा ।
खावाबजार–हनुमन्ते बेस क्याम्प मेहेले ३ किलोमिटर कच्चि सडक, गाडिमा ३० मिनेट ।
मेहेले–हनुमन्तेडाँडा १ किलोमिटर, ३० देखि ४५ मिनेट पदयात्रा ।
खावाबजार–जिरी–१२ किलोमिटर पक्कि सडक ।