काठमाडौं। पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बनेको छ, मनास्लु परिक्रमा पदमार्ग। गोरखा र मनाङ जिल्लामा पर्ने यस पदमार्गमा बर्सेनी पदयात्री बढीरहेका छन्। यही पदमार्गमा पर्ने मनास्लु हिमालको फेदी सामागाउँमा (चुमनुब्री गाउँपालिका वडा नं. १, गोरखा)मा ‘होटल नोर्लिङ’ चलाउँछन् तन्नेरी मिङ्मार छिरिङ लामा।
उनी होटल व्यवसायी मात्र होइनन, साहसिक पर्वतारोही पनि हुन्। प्रेरणापुरूष पनि हुन्। उनले पहिलो पटक सिलिन्डरको अक्सिन प्रयोग नगरी सन् २०२१ सेप्टेम्बरका दिन मनास्लु हिमाल चढेर कीर्तिमान राखे। इम्याजिन नेपालका पर्वतारोही मिङ्माजीको बलियो सहयोगमा उनी हिमाल चढ्न सफल बनेका हुन्।
विगतमा हिमाल आरोहीका भारी बोकेर सामागाउँबाट मनास्लु आधारशिविरसम्म पुगेका थिए उनी। त्यतिबेला उनी मनमनै कल्पिन्थे, सात समुन्द्र पारीबाट आएका विदेशी हाम्रो हिमाल चढेर गर्व गर्छन्। हामी यही हिमालको फेदीमा बस्नेहरूले कहिले चढ्ने होला ?’
त्यो सपना उनले पुरा गरे। र, उदाहरणीय युवा बन्न पुगे। काठमाडौं झरेका बेला यिनै युवासँग एभरेस्ट पेडियाले कुराकानी गरेको छ । उनले सरकारसँग गुनासो गरेका छन्। त्यो के भने, मनास्लु क्षेत्रमा हेलिकप्टर उडानको अनुमति लिने प्रक्रिया झण्झटिलो छ।
‘चुमनुब्री गाउँपालिकाबाट बिरामीलाई तुरुन्तै काठमाडौं वा पोखरा ल्याउन सकिँदैन। हेलिकप्टर उडाउनको अनुमति लिँदालिँदै बिरामी समस्यामा परिसक्छ’, मनास्लुका यी हिरो भन्छन्, ‘सरकारले हामीमाथि अन्याय ग¥यो। सजिलै हेलिकप्टर उडाउने व्यबस्था मिलाइयोस्।’
मनास्लु घुम्न आउनेलाई उनी भन्छन्, ‘पदयात्रीले यहाँको हिमाल र आकाश मात्र होइन, हिमालमा बसेकाहरू कसरी बाँचेका छन् भन्ने पनि हेर्नुप¥यो।’