मुस्ताङ। विश्व सिमसार दिवसको अवसरमा मुस्ताङको ढुम्बा र टिटी तालमा वृक्षारोपण, सरसफाइ, चरा अवलोकन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
‘हाम्रो साझा भविष्यको लागि सिमसार क्षेत्रको संरक्षण’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा स्थानीय तह, सुरक्षा निकाय तथा संरक्षणसम्बद्ध विभिन्न संस्थाहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा भएको कार्यक्रममा घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, संरक्षण क्षेत्र व्यवस्थापन समिती जोमसोम र कुन्जोको समन्वय रहेको थियो। यस्तै, जिल्ला प्रहरी कार्यालय मुस्ताङ, सशस्त्र प्रहरी बल नेपाल, ३३ नं. गुल्म मुस्ताङ, ठिनी तथा कुन्जो क्षेत्रका आमा समूह, महिला समूह तथा स्थानीय बासिन्दाहरूले पनि सक्रिय रूपमा सहभागिता जनाएका थिए।
कार्यक्रमका क्रममा ढुम्बा र टिटी ताल क्षेत्र वरपरको सफाइ गर्दै वृक्षारोपण गरिएको थियो। साथै, ताल क्षेत्रमा पाइने चराहरूको अवलोकन गर्दै तिनको संरक्षणका उपायबारे छलफल गरिएको थियो।
सिमसार क्षेत्रलाई प्राकृतिक सन्तुलन कायम राख्ने महत्वपूर्ण अंग मानिन्छ। दिवसको अवसरमा आयोजित यस कार्यक्रमले मुस्ताङका तालहरूको संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
तस्बिर: एक्याप जाेमसाेम/फेसबुक