रामेछाप/दोलखा। दुई छिमेकी जिल्ला रामेछाप र दोलखाका जनप्रतिनिधिहरूले शैलुङको पर्यटन विकासका लागि साझा सहमति जनाएका छन्। विगतमा सीमा विवादले गर्दा तनावपूर्ण सम्बन्ध रहेका दुवै जिल्लाका प्रतिनिधिहरूले अब शैलुङको सामूहिक विकासमा सहकार्य गर्ने निर्णय गरेका हुन्।
दोलखाको शैलुङ गाउँपालिकामा भएको छलफलमा दुवै जिल्लाका जनप्रतिनिधिहरूले शैलुङको पर्यावरणीय संरक्षण, पर्यटन प्रवर्धन, सरसफाइ शुल्क निर्धारण, सडक तथा यातायात व्यवस्थापन लगायतका विषयमा साझा योजना बनाउने सहमति जनाएका छन्। यस कार्यक्रममा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका वडाध्यक्ष प्रेमकुमार लामा, पर्यटन व्यवसायी दावासङ्बु शेर्पा, होटेल व्यवसायी तथा यातायात व्यवसायीहरूले सहभागिता जनाएका थिए।
त्यस्तै दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठ, वडाध्यक्ष वीरबहादुर तामाङ तथा अन्य जनप्रतिनिधिहरूले पनि यस कार्यक्रममा सहभागिता जनाएका थिए।
दक्षिणी क्षेत्रबाट शैलुङ प्रवेश गर्ने पर्यटकहरूका लागि दोलखाको कालापानी र कालिञ्चोक प्रवेश गर्ने खोलाखर्क र ढुङ्गे बीचको सडक जीर्ण अवस्थामा रहेकोले यातायातमा असुविधा भएको गुनासो आएपछि दोलखाको शैलुङले मृगस्थली भिरसम्म र मृगस्थलीदेखि खोलाखर्कसम्मको सडक रामेछापको दोरम्बा शैलुङले सुधार गरी यातायात सञ्चालनमा सहज वातावरण तय गर्ने सहमति भएको छ।
साथै, खोलाखर्क–डडुवा चल्ने नियमित बस सेवा सञ्चालनलाई त्यसै रुटमा सञ्चालन गरी सडकको दिगोपनामा टेवा पुगाउने सहमति पनि भएको छ।
शैलुङ प्रवेश गर्ने एउटा बाटो दोलखाको कालापानीबाट रहेको छ भने अर्को रामेछापको खोलाखर्कबाट रहेको छ। हिउँदमा शैलुङ घुम्न देश विदेशबाट पर्यटकहरू आउने गर्दछन्। चिसोमा हिउँ खेल्न तथा चैत बैशाखमा गुराँस हेर्न र प्रकृतिसँग रमाउन बाक्लो सङ्ख्यामा पर्यटकहरू शैलुङ आउने गर्दछन्।
यसअघि रामेछापले शैलुङको सीमा विवादका कारण दुई जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू बीचको सम्बन्ध चिसिएको थियो। तर अब उनीहरूले साझा विकासका लागि सहकार्य गर्ने निर्णय गरेका छन्। यसरी दुवै जिल्लाका जनप्रतिनिधिहरूले शैलुङको पर्यटन विकासका लागि साझा प्रयास गर्ने निर्णयले यस क्षेत्रको पर्यटन उद्योगलाई मजबूत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।