‘म एकदमै ग्रासलेभलबाट आएको मान्छे हुँ’ – रसुवाको ठूलो हाकु आमाछोदिङमो गाउँपालिकामा जन्मिएका ङावा तामाङको यी शब्दहरूले उनको जीवनको कठोर यात्राको झलक दिन्छन्। पाँच–छ वर्षकै कलिलो उमेरमा आमाबुवाको छत्रछाया गुमाएका ङावाको बाल्यकाल आँसु र पीडाले भरिएको थियो। ठूलो आमाको माया र स्नेहमा हुर्किए पनि जीवनको कठोर यथार्थले उनलाई आठ वर्षकै उमेरमा आफ्नो जन्मथलो छोड्न बाध्य बनायो।
‘मैले ट्रेकिङ क्षेत्रबाहेक ८ वर्षको उमेर देखि नै होटल लाइनमा काम गर्न थालेको हुँ’ – धुन्चेमा सुरु भएको उनको कर्मयात्रामा थुप्रै उकाली–ओराली थिए। कहिले गोठालाको रूपमा बाख्रा चराउँदै, कहिले होटलमा भाँडा माझ्दै, उनले जीवनको पाठशालामा कडा मेहनतको पाठ सिके। बाह्र वर्षको किशोर उमेरमा नै गोसाइकुण्डमा आउने हजारौं तीर्थयात्रीहरूको भोक मेट्ने जिम्मेवारी उनको काँधमा थियो।
जीवनको मोडमा एउटा नयाँ आशाको किरण त्यतिबेला चम्कियो, जब उनका काकाले उनलाई काठमाडौंको कालोपुलमा एक गाइडकहाँ धर्मपुत्रको रूपमा ल्याए। ‘वहाँले मलाई बाटो देखाइ दिनुभयो वहाँका कारण म आज यो ठाउँसम्म आएको हुँ’ – धर्मबुवाप्रति आभार व्यक्त गर्दै ङावाको आँखामा कृतज्ञताका आँसु टल्किन्छन्।
चौध वर्षको उमेरमा नगरकोट ट्रेकमा भरियाको रूपमा सुरु भएको उनको यात्रा सजिलो थिएन। ‘त्योबेलाको समयमा धेरै दुःख गरियो त्यो बेलाको गाइडहरुले भनेको कुरा जसरी पनि गर्नु पथ्र्यो नत्र कुटाइ खाइन्थ्यो’ ती कष्टका दिनहरूको स्मरण गर्दै उनी भन्छन्। राति सुतिरहेको बेला तातो–चिसो पानी खन्याइदिने जस्ता यातना सहँदै पनि उनले आफ्नो सपनालाई जीवित राखे।
‘जिन्दगी सुधार्नु पर्छ’ भन्ने दृढ संकल्पका साथ उनले सन् २००० देखि २००३ सम्म मलेसियामा बिताए। त्यहाँ उनले अंग्रेजी भाषा सिक्ने अवसर पाए, जसले पछि उनको जीवनमा नयाँ ढोका खोल्यो। एक बेल्जियमकी महिला (जसलाई उनी विदेशी आमा भन्छन्) को सहयोग र प्रेरणाले उनलाई सहायक गाइडको रूपमा नयाँ यात्रा सुरु गर्ने अवसर दियो।
‘भरियाको रुपमा काम गर्दा १२० रुपैयाँ सम्म पाइन्थ्यो’ – आफ्नो पहिलो कमाइको स्मरण गर्दै ङावा भन्छन्। तर उनी त्यहीँ रोकिएनन्। निरन्तर मेहनत र सिक्ने चाहनाले उनलाई क्रमशः २००७ मा ट्रेकिङ गाइड, २००९ मा माउन्टेनरिङ गाइड र २०१९ मा क्यानोनिङ गाइडको लाइसेन्स हासिल गर्न सफल बनायो।
आज उनी पुथा हिमाल (धौलागिरी ७) र आमा डब्लम जस्ता उच्च हिमालहरूको सफल आरोहण गरिसकेका अनुभवी गाइड हुन्। ‘माउन्टेनरिङ गाइडमा धेरै चुनौति हुन्छ। अब हामीले क्लाइन्टहरुलाई खुसी बनाउनै पर्छ, एउटा आरोहणमा २–३ सय मान्छेसँग काम गर्नु पर्छ’ – उनी आफ्नो पेशाको चुनौतीहरू बताउँछन्। त्यस बाहेक प्राकृतिले दिने चुनौति त छदैं छ उनी भन्छन्।
आज ङावा तीन विभिन्न क्षेत्रको लाइसेन्स प्राप्त गाइडको रूपमा आफ्नो परिवारलाई सुखी जीवन दिइरहेका छन्। ‘धेरै त भन्दिन आफ्नो परिवार राम्रै सँग पालेको छु। खाना लगाउन त्यस्तो दुख छैन’ – उनी विनम्रतापूर्वक भन्छन्।
यस क्षेत्रको विकासका लागि उनको एउटा स्पष्ट सन्देश छः ‘हामी व्यवसायीक प्रतिस्पर्धा गरौं तर स्वच्छ तरिकाले गरौं, एउटा मापदण्डमा रहेर निर्धारित शुल्कमा रहेर काम गरौं’।
आठ वर्षको बालकदेखि हिमालको चुचुरोमा पुग्ने पर्वतारोहीसम्मको उनको यात्रा एउटा प्रेरणादायी उदाहरण हो। भरियाको भारीमुनि दबिएको सपना आज हिमालको उचाइमा गर्वसाथ फर्फराइरहेको छ। उनै तामाङसँग एभरेस्ट पेडियाले ‘गाइडको कथा’ सृङ्खलामा कुराकानी गरेको छ।