काठमाडौं। यूएस–नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल राष्ट्रिय पर्वतारोहण पद प्रदर्शक संघको संयुक्त आयोजनामा तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता)को दोस्रो संस्करण सम्पन्न भएको छ।
बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा बिहीबार भएको फाइनल प्रतियोगिताको लागि ८ जना पुरुष र ८ जना महिला चयन भएका थिए।
पुरुषतर्फ भिन्सेन्ट साब्लिचले पहिलो स्थान हासिल गरे। भने, दिपन गुरुङ दोस्रो, पाउल श्मिट तेस्रो, छेरेङ ग्याल्जेन शेर्पा चौथो र साजन लामा पाँचौँ स्थानमा रहे।
त्यस्तै महिलातर्फ टमसिन हन्टले पहिलो स्थान हासिल गर्दा मिङ्मा याङ्जी शेर्पा दोस्रो, फुरा डिकी शेर्पा तेस्रो, सन्तोषी मगर चौथो र दिपा लामिछाने पाँचौँ स्थानमा रहे। विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद् नेपालका सदस्य सचिव टंकलाल घिसिङले प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरे।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषले क्रमशः ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे। दुवै विधाका चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीहरूले गिफ्ट ह्याम्पर प्राप्त गरे।
पुरुष र महिलातर्फका सबैभन्दा कान्छा र जेष्ठ सहभागीलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।